बचत समूहका ६१ जना उत्कृष्ट महिलालाई सम्मान


नेपालगन्ज : बचत समूहका पाँच दर्जन महिलालाई बाँकेको नेपालगन्जमा सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका क्षेत्रका विभिन्न बचत कार्यक्रममा आवद्ध उत्कृष्ठ महिला सदस्यहरुलाई बिहीबार सम्मान गरिएको हो । महिला बचत तथा लघु ऋण परिचालन समन्वय समिति, बाँकेद्वारा दुई दिनसम्म सञ्चालित वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन उत्कृष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई नेपालगन्ज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापा मगरले सम्मान गरेकी थिइन् । महिलाहरुलाई बचत कार्यक्रममा सहभागी गराई बचत गर्ने बानीको विकास गर्दै आर्थिक स्वावलम्वन तर्फ उन्मुख गराउँदै आएकोमा उनले प्रशसा गरिन् ।

उप–प्रमुख मगरले विभिन्न किसिमका तालिमहरुको माध्यमबाट महिलाहरुलाई सशक्तिकरण गर्दै स्वनिर्णय गर्ने क्षमताको विकास, सामाजिक प्रतिष्ठा कायम गर्ने लगायतको काममा योगदान गरिएको बताइन् । वार्षिक समीक्षा गोष्ठीको दोस्रो दिन विहीवार प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहले थप अन्य उत्कृष्ठ महिलाहरुलाई सम्मान गरिन् ।

गोष्ठीमा समन्वयकारी र सहयोगीको भूमिका निर्वाह गर्दै आएको ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दुई दिनसम्म प्रत्येक समूह र समूह सदस्यहरुको बचत तथा बचत परिचालनको अवस्थाबारे प्रस्तुती गरेकी थिइन् । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा ७ वटा केन्द्रहरुमा एकीकृत विभिन्न बचत समूहमा आवद्ध करीब एक सय भन्दा बढी अगुवा महिलाहरुको सहभागिता रहेको थियो । गत आर्थिक वर्षको आर्थिक क्रियाकलापहरुको लेखा परीक्षणका आधारमा मूल्याङ्कनका आधारमा छनौट गरिएका ६१ जना उत्कृष्ठ महिला सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मितिः     १७ फाल्गुन २०७५, शुक्रबार ०७:४०  |