प्रादेशिक महोत्सव आजबाट, बिहान झाँकी निकालिदै


नेपालगन्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजना आईतबार फाल्गुण १९ गते देखि २९ गतेसम्म “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” शुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन सहरी विकास मन्त्री ईस्तियाक राईले गर्नुहुने छ । मन्त्री राई महोत्सवको उद्घाटन गर्ने कार्यक्रमका लगि शनिबार गृहनगर आईपुग्नुभएको छ । राँझा बिमानस्थलमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतका पदाधिकारीहरुले मन्त्री राईलाई स्वागत गर्नुभयो । महोत्सव उद्घाटन अघि आईतबार बिहान ९ बजे संघको कार्यालय त्रिभुवनचोकबाट बिशाल झाँकी निकालिने छ । बिभिन्न भाषा, भाषी, कला, संस्कृतिकको बिबिधतालाई समेटेर अत्यन्त आर्कषक झाँकी निकालिने झाँकी व्यवस्थापन समितिकी उपसंयोजक मन्दिरा पाण्डेले जानकारी दिनुभयो ।
झाँकीमा पहिलो पटक दुईवटा उँट समेत समावेश गराईदैछ । भारतको राजस्थानबाट उँट ल्याईएको हो । झाँकी महोत्सवस्थल सडक डिभिजन परिसर, कारकाँदोमा पुगेपछि समुद्घाटन कार्यक्रम शुरु हुने प्रचार प्रसार उपसमितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो ।
वि.सं. २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ । विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष बैश्यले बताउनुभयो । महोत्सवमा तीन सय बढि स्टल रहने छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७५, आईतवार ०७:४५  |