मन्त्री ईस्तियाक राईले भने,–‘अव एक मनको बाँके, समृद्धि बाँके’


शहरी विकास मन्त्री ईस्तियाक राई ।                     तस्बिर सौजन्य : जावेद अन्सारी

बाँके १९ फाल्गुण :  शहरी विकास मन्त्री मो. ईस्तियाक राईले बाँके जिल्लालाई ‘एक मन’को बनाएर समृृद्धि ल्याई छाड्ने बताएका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री राईले जिल्लामा अब जात, धर्म, सम्प्रदायका नाममा राजनीति हुने दिन पनि गएको उल्लेख गरे ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकादोमा आईतबारदेखि “प्रादेशिक महोत्सव–२०७५”लाई आईतबार सम्बोधन गर्दै मन्त्री राईले जिल्लामा कोहलपुर, खजुरा भर्सेज नेपालगन्ज भन्ने मनोबिज्ञानको पनि अन्त्य गरिने बताए । राईले भने,‘ जात, धर्म, सम्प्रदायको नाममा राजनीति हुँदै । कोहलपुर, खजुरा वा नेपालगन्ज भनेर एकले अर्कोलाई बाधा गर्नुपर्ने प्रबृतिको पनि अन्त्य हुनुपर्छ ।’
मन्त्री राईले जिल्लामा समृद्धिको कुरा हुने बताए । ‘अब हरेक जात, जाती, भाषा, भाषी, सम्प्रदायको संरक्षण र सम्र्बद्धन हुन्छ । नेपालगन्जको विकास हुन्छ । उत्तिकै मात्रामा कोहलपुर र खजुरा वा नरैनापुरको भन्नुहोस् हरेक ठाउँको विकास हुन्छ ।’–मन्त्री राईले भने । मनोवैज्ञानिकरुपमा बिभाजित बाँकेले धेरै गुमाईसकेको उनको भनाई थियो । अव त्यसो हुन नदिने उनको उद्घोष थियो ।
आफुले जिल्लामा विकास बजेट पनि समानरुपमा बितरण गरेको राईको दावी गरे । प्रदेश राजधानी बाँकेमै बनाउनुपर्ने बताउँदै राईले नत्र पायक पर्ने ठाउँमा बनाउन जोडदार पहल गर्ने बताए । ‘तर बुटवल त कुनै हालतमा हुँदैन । हामी मान्दैनौ ।’– राईले स्पष्टरुपमा भने । नेपालगन्ज राजधानी नभए कर्णाली प्रदेशमा जाने भन्ने कुरालाई बेमौसमको कुरा भन्दै मन्त्री राईले संविधान संशोधनबाट मात्र हुने संवेदनशिल कुरामा जनतालाई बहकाउन नहुने बताए ।
उनले भने,–‘अन्यत्र गाभिने कुरा पनि गरिएका छन् । एउटा प्रदेश अन्यत्र गाभिने अरु प्रदेशले सहमति दिनुपर्छ अनि कसरी यो सजिलै सम्भव हुनछ ।’ आफुहरुले संविधान संशोधनको कुरा उठाएको बताउँदै मन्त्री राईले बरु यही मुद्दामा साथ दिन आग्रह गरे । उनले भने,–‘बाँके र बर्दियाले चाहेमा अन्यत्र गाभिने व्यवस्था गर्ने गरी संविधान संशोधन गरौं । अनि बाँकेमा राजधानी ल्याउँला । त्यो राजधानी कोहलपुरमा पनि हुन सक्ला, नेपालगन्जमा पनि होला । पछि छलफल गरौला ।’ महोत्सवको उद्घाटन गर्दै राईले समृद्धि बाँकेको यात्रा शुरु भएको उद्घोष गर्दै भने,–‘अबका केही वर्षमा ७६ जिल्लाले बाँकेबाट विकास के हो भन्ने कुरा सिकेर जान्छन् । विकास र समृद्धिमय बाँके बन्छ ।’

https://nepalgunjbusiness.com/2019/03/4092/

https://nepalgunjbusiness.com/2019/03/4079/

प्रकाशित मितिः     १९ फाल्गुन २०७५, आईतवार १७:५८  |