राष्ट्र बैंककै कर्मचारीले पोशाक र परिचयपत्रको अनुशासन तोडे, कडाई गर्न निर्देशन


नेपालगन्ज : सवैभन्दा अनुशासित मानिने नेपाल राष्ट्र बैंकका कर्मचारीले नै पोशाक र परिचयपत्र सम्बन्धी नियम उल्लंघन गर्ने गरेको पाईएको छ । उक्त बैंकका कर्मचारीले कार्यालयले तोकेको पोशाक नलगाई आफूखुशी पोशाकमा कार्यालय आउने गरेको स्वंय नेपाल राष्ट्र बैंक समाचार बुलेटिनको फागुन अंकमा उल्लेख  छ । अनुशासन उल्लंघन भएपछि जनशक्ति व्यवस्थापन विगागले २०७५ माघ १७ गते एक परिपत्र जारी गरी बैंकका कर्मचारीहरूलाई तोकिएको कार्यालय पोशाक र परिचयपत्रका साथ कार्यालयमा आउन पुनः स्मरण गराएको छ ।

यसअघि विगागले २०७५ पुस २५ गते बैंकका कर्मचारीहरूले तोकिएको कार्यालय पोशाक अनिवार्य लगाउनु पर्ने परिपत्र जारी गरेको थियो ।
बैंकका कर्मचारीहरूले कार्यालयले तोकेको पोशाक नलगाई आफूखुशी पोशाकमा कार्यालयमा आउने गरेको पाइएकोले कार्यालय पोशाकमा एकरूपता, नियमितता, औचित्यता कायम हुन नसकेको र नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावलीमा भएको “कर्मचारीले अनिवार्य रूपमा बैंकले तोके बमोजिमको पोशाक र परिचयपत्र लगाउनु पर्नेछ” भन्ने व्यवस्थाको अवज्ञा भएको परिपत्रमा उल्लेख छ ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंक, लेखापरीक्षण समितिको मिति २०७५/०९/२३ को बैठकबाट “आफ्नो विभागका कर्मचारीहरूलाई कार्यालयले तोकेको पोशाकमा आउन सम्बन्धित विभागीय प्रमुखले निर्देशन/प्रोत्साहन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिन जनशक्ति व्यवस्थापन विगागलाई निर्देशन दिने” निर्णय भएकोले उक्त निर्देशन अनिवार्य रूपमा पालना गर्न गराउन उक्त परिपत्र जारी गरिएको हो । उपर्युक्त व्यवस्था पालना नभएमा कर्मचारीले बैंकबाट प्राप्त पोशाक सुविधाको दुरूपयोग गरेको मानी कार्यालय प्रवेशमा कडाई गरिने र नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली बमोजिम भैजाने पनि परिपत्रमा उल्लेख छ ।
साथै, पुरुष कर्मचारीको हकमा सादा लबेदा सुरुवाल (दौरा सुरुवाल), कोट, टोपी र जाडो याम (कार्यालय समय १० बजेदेखि ४ बजेसम्म हुने महिना) मा पुरुष वा महिला कर्मचारी दुवैको हकमा विद्यमान व्यवस्थाको अलावा निलोकालो रंगको ज्याकेटलाई समेत कार्यालय पोशाकमा समावेश गरिएको उक्त विभागले जनाएको छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७५, सोमबार ०९:२७  |