माननीयको रोजाईमा अल्लोको कोट


नेपालगन्ज :  बाँके निर्वाचन क्षेत्र नं. १ का संघियसभाका सांसद एवं नेकपाका नेता महेश्वर गहतराज ‘अथक’ सडक डिभिजन परिसर,कारकादो नेपालगन्जमा सन्चालन भइरहेको प्रादेशिक महोत्सवका सबै स्टल मंगलबार अवलोकन गरे । अवलोकन गरेका मध्ये स्वदेशी उत्पादन बिक्रीका लागि राखिएका सामाग्रीले उनको ध्यान खिचेको थियो । त्यस्ता स्टलमा उनले धेरै समय दिएर सामानका बारेमा जानकारी लिन्थे । उल्टापल्टाई हेर्थे ।


चिनारी साझेदारी महिला उद्योगको स्टलबाट उनले कोट बनाउने अल्लोको कपडा किने । ‘यो किन्नुको मुख्य कारण बिशुद्ध स्वदेशी उत्पादन हुनु नै हो । यसलाई प्राथमिकता दिनै पर्छ’ सांसद अथक भन्दै थिए,–‘अर्को कारण भनेको कपडा बलियो र राम्रो हुनु पनि हो ।’ अथक संगै स्टल अवलोकन गरिरहेका नेकपाका नेता अकलबहादुर बम रुचीपूर्वक अल्लोबाट बनेका झोला हेर्दै थिए । ‘स्वदेशी कच्चा पदार्थको सही सदुपयोग यसरी यहाँबाट सिक्न सकिन्छ’– बमले भने ।


स्वदेशी उत्पादन बिक्रीका लागि राखिएका स्टलमा सांसद अथकको आँखा अडिन्थ्यो । त्यहाँ पुगेर उनले सामानका बारेमा जानकारी लिन्थे । बिक्रीको अवस्थाका बारेमा सोधखोज  गर्थे । ‘घरेलु उत्पादनलाई हरेक नागरिक तहदेखि राज्यका निकायसम्मले प्राथमिकतामा
राख्नुपर्छ । ’–अथकले भने–‘स्वदेशी उत्पादनले बजार पायो भने मात्र तपाई हामीले भनेको समृद्धि आउँछ ।’

प्रकाशित मितिः     २२ फाल्गुन २०७५, बुधबार ०७:५८  |