रोल्पाको तरकारीले पाएन बजार


रोल्पाको तरकारीले पाएन बजार

रोल्पा । व्यावसायिक तरकारी खेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसान तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी विक्री नभएपछि बारीको तरकारी गाईभैंसीलाई खुवाउनुका साथै निःशुल्क बाँड्न बाध्य भएका हुन् ।

बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा विक्री नभएपछि ऋणको मारमा परिने चिन्ताले उनीहरूलाई सताएको छ । ‘अघिल्लो वर्ष तरकारीबाट रू. ५ लाख आम्दानी गरेकी थिएँ, यस वर्ष त लगानी पनि नउठ्ने भयो,’ कृषक पुष्पा घर्तीकोे दुखेसो थियो ।

अघिल्लो वर्ष तरकारीबाट राम्रो आम्दानी गरेर हौसिएकी त्रिवेणी गाउँपालिका दहवनकी कल्पना पुनले यस वर्ष भने डोकोमा तरकारी बोकेर गाउँगाउँ डुलाउँदा पनि विक्री नभएको गुनासो गरिन् । ‘यस वर्ष त लगानी पनि नउठ्ने भयो,’ उनले बताइन् ।

रुन्टीगढी गाउँपालिका–७ का किसानले प्रतिकिलो तीन रुपैयाँका दरले पनि तरकारी विक्री नभएपछि गाईभैंसीलाई खुवाउन बाध्य भएको किसान सुगम मगरले बताए । ‘स्वदेशमै स्वरोजार बन्न व्यावसायिक तरकारीखेती अँगालेका युवा अहिले निराश भएर विदेश जानुको विकल्प नभएको सुनाउन थालेका छन्,’ मगरले भने । बिचौलियाका कारण किसान मर्कामा पर्दै आएको स्थानीय लक्ष्मीराम थापाको भनाइ छ । भारतबाट आउने सस्तो तरकारीले पनि यहाँका किसान मर्कामा परेका उनले बताए ।

यता जिल्ला सदरमुकाममा भने तरकारीको मूल्य अकासिएको छ । सदरमुकाममा बन्दा, काउली, प्याजलगायत तरकारीको बजार मूल्य प्रतिकिलो रू. ३० देखि ७० सम्म पुगेको छ । बजारको राम्रो सञ्जाल नहुँदा जिल्लाभित्रै कतै हाहाकार र कतै फालाफालको अवस्था आएको छ । रासस

प्रकाशित मितिः     २७ फाल्गुन २०७५, सोमबार ०८:०६  |