काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्सबीच ब्याजदरमा देखिएको द्धन्द्ध अन्त्यको प्रयास सुरु भएको छ। चर्को ब्याजदर लिएको भन्दै हड्तालमा उत्रिएपछि उद्योगी र बैंकरबीच आरोपप्रत्यारोप समेत सुरु भएको थियो। बैंकर र उद्योगी एकअर्काको परिपूरक भएको भन्दै द्धन्द्ध अन्त्यका लागि महासंघलेनै पहल सुरु गरेको हो। महासंघको दुई साता अघि भएको कार्यसमिति बैंठकमा ब्याजदरका बारेमा बैंकलाई एकतर्फ निशाना बनाउनु जायज नभएको भन्दै कार्यदल बनाएर समस्या समाधान गर्ने निर्णय भएको थियो।यही निर्णयका आधारमा महासंघले बैंकर्स संघलाईनै बोलाएर द्धन्द्ध अन्त्यको प्रयास थालेको हो। महासंघले आज दिउँसो दुई बजे संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई छलफलमा बोलाएको छ। महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले बैंकर र उद्योगीबीच एकअर्कामा परिपुरक रहेको बताउँदै दुबै पक्षबीच राम्रो सम्वन्ध हुनुपर्ने बताए।‘हामीबीच केही असमझदारी जस्तो देखियो। यो असमझदारी हटाउँदै लैजान आवश्यक भएकाले छलफल अघि बढाएका हौं’ उनले बिजमाण्डूसँग भने,’यो छलफलले उद्योग र बैंक दुबैलाई फाइदानै गर्छ।’
गभर्नरसँग भेट
महासंघका उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग गत विहिबार भेट गरेको छ। भेटमा प्रतिनिधीमण्डलले बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गर्नुपर्ने, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गर्नुपर्ने, अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था हुनुपर्ने माग गरेको छ।
यस्तै पुर्नर्कर्जा कोषमा छ/छ महिनामा नवीकरण गर्नुपर्ने हालको व्यवस्थाको सट्टा पाँच वर्षको अवधि बनाउनु पर्ने, पुर्नर्कर्जा प्रक्रिया सरल गरेर कोषको रकम एक खर्ब पुर्याउनुपर्ने माग महासंघले राखेको छ। महासंघले नाफा मुलक सँस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदर भन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्ने माग समेत राखेको छ।