बाँके र बर्दियामा यसरी भित्रिदै छ बिदेशी लगानी, गत वर्ष मात्र पाँच उद्योगले पाए अनुमति


बाँके :  बाँके र बर्दिया जिल्लामा बिदेशी लगानीका उद्योग समेत खुल्न थालेका छन् । पर्यटनक्षेत्रलाई लक्षित गरी होटल तथा रेष्टुरेण्ट व्यवसायमा बिदेशी लगानी भएको पाईन्छ । गत आर्थिक वर्ष २०७४ र २०७५ मा बिदेशी लगानी सहितका पाँच उद्योगले उद्योग बिभागबाट सन्चालन अनुमति लिए ।अनुमति लिएका मध्ये केही उद्योग सन्चालन भइरहेका छन् भने केही प्रक्रियामा छन् ।

उद्योग  बिभाग अनुसार बाँकेमा क्यासिनो सन्चालनका लागि गत वर्ष गोल्डेन गेमिङ्ग इन्टरनेशनल क्यासिनोले अनुमति लिएको छ । उसले १५ करोड लगानी भित्राउँदै छ भने वार्षिक ३६ हजार ५ सय जनालाई क्यासिनो खेलाउने लक्ष्य तोकेको छ ।बाँके जिल्ला भन्दा बर्दियामा बिदेशी लगानीको प्रतिवद्धता धेरै नै देखिएको छ । गत आर्थिक वर्षमा बर्दियामा मात्र बिदेशी लगानी सहितका चार उद्योगले सन्चालनका लागि अनुमति लिएका थिए ।

भारतीय नागरिक मुस्ताक अमहदले नेपाली नागरिकहरुसंगको साझेदारीमा रु १ करोडको लगानीमा १२ हजार किलोलिटर पानी उत्पादन गर्ने क्षमताको पानी उद्योग खोल्न अनुमति पाएको छ । त्यसमा नेपालीको ५२ प्रतिशत लगानी छ भने ४८ प्रतिशत भारतीय नागरिकको लगानी रहेको छ ।त्यस्तै अमेरिकन नागरिकले फरक  फरक तीनवटा रिर्सोट सन्चालनका लागि उद्योग बिभागबाट अनुमति पाएका छन् । उनीहरुले रु ५० लाखदेखि १ करोडसम्म लगानी गर्दै छन् । बिदेशी लगानी भित्रिएसंगै रोजगारी समेत सिर्जना हुँदैछ ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार १२:५०  |