नेपालगन्ज : एकहप्ता पहिले खुर्सानीको मूल्य प्रति केजि ४० रुपैया थियो । अहिले बजारमा यसको मूल्यएक सय पुगेको छ । प्रतिकेजि १० रुपैयामा छ्यापछ्याप्ती पाईने काउलीलाई उपभोक्ताले रु ५० तिरेका छन् । लौकाको मूल्य पनि रु ४० देखि बढेर ७० रुपैया प्रति केजि पुगेको छ ।
तरकारीको सिजन सकिएर नयाँ सिजन आउन लागेका बेला नेपालगन्जमा यसरी तरकारीको मूल्य दोब्बरले बढेको छ । मिठो तरकारी खानेलाई यसको मूल्यले झस्काएको छ । किन्न नै धोधौ परेको उपभोक्ताहरुको भनाई छ । नेपालगन्जमा सबैभन्दा ठुलो तरकारी बिक्री केन्द्रमै खुर्सानीको मुल्य खुद्रा प्रति केजि रु ४० बाट बढेर रु १०० मा पुगेपछि अन्य ठाउँको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । रानी तलाउ भन्दा अन्य पाईने तरकारी मूल्य अन्तर धेरै हुने गरेको छ ।
रानी तलाउका तरकारी बिक्रेता उमरका अनुसार अन्य तरकारी भन्दा खुर्सानी, लौका र काउलीको मूल्य सबैभन्दा धेरै बढेको छ । ‘काउली त स्थानीय उत्पादन नै हो । यो अहिले सकिन लागेकाले बढेको हो ।’ उमरले भने,–‘खुर्सानी भने भारतबाटै आउँछ ।’ नेपालमा उत्पादन भएको खुर्सानी बजारमा नआउँदासम्म यसको मूल्य नघट्ने उमरले बताए । उनले भने,‘धेरै समयसम्म यस्तो हुँदैन । स्थानीय उत्पादन बजारमा आएपछि मूल्य घट्छ ।’
बाँके जिल्लामा तरकारी उत्पादन हुने क्रम बढेपनि आत्मनिर्भर भने बन्न सकेको छैन । अझै धेरै तरकारी भारतबाटै आउने गरेको छ ।