विप्लव माओवादी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णय


नेपालगन्ज : तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

‘उहाँहरूलाई हामीले वार्तामा बोलायौं, तर उहाँहरूले झमेला झिक्नुभयो, बम पड्काउन थाल्नुभयो,’ उनले सेतोपाटीसँग भने, ‘यसको निकास अरू के हुन सक्थ्यो र? त्यही भएर प्रतिबन्ध लगाउने निर्णय गरेका हौं।’

विप्लव माओवादीबाट राजधानी लगायत देशका विभिन्न ठाउँमा बम विस्फोट र चन्दा आतंक बढेपछि सरकारले कडा नीति लिएको हो।

विप्लव समूहले केही दिनअघि मात्र ललितपुरस्थित एनसेलको प्रधान कार्यालय र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा बम विस्फोट गरेको थियो।

त्यसयता प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विप्लव समूहविरूद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम पनि बढेको छ।

प्रधानमन्त्री ओलीले सोमबारै एक कार्यक्रममा ‘कम्युनिस्टका नाममा हिंसा र आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने’ बताएका थिए।

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार २१:०५  |