आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : केही खेल चैत १९ गतेबाट, उद्घाटन समारोह टुङ्गो लाग्दै


प्रतियोगिताको उद्घाटन समारोहमा झाँकी व्यवस्थापन गर्न आयोजित छलफलमा राखेप सदस्य सचिव केवश बिष्ट,साथ राखेप सदस्य बिनोद मैनाली ।

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुदका खेलहरु चैत १९ गतेबाटै शुरु हुने बताएका छन् । प्रतियोगिताको उद्घाटन समारोह भने चैत २५ गते भित्र जसरी पनि गर्ने लक्ष्य सहित भौतिक पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए ।
बिष्टले चैत १९ गतेबाट ‘आउटडोर’ खेलहरु सन्चालन गरिने जानकारी दिएका छन् । ‘औपचारिक समारोह हुनु भन्दा पहिल्यै खेलहरु हुने अभ्यास सामान्य हो ।’ बिष्टले आईतबार नेपालगन्जमा सांस्कृतिक झाँकी व्यवस्थापनका बिषयमा भएको छलदफलमा भने,–‘यहाँ पनि हामी त्यही गर्छौ ।’ औपचारिक समारोह हुने मिति टुङ्गो नलाग्दा राष्ट्रिय खेलकुद समयमै नहुने होकी भन्ने आशंका देखिएको थियो । तर राखेप सदस्य सचिव बिष्टले चैत १९ गतेबाट खेल सुरु हुने र २५ गतेभित्र उद्घाटन समारोह हुने जानकारी दिएका छन् । ‘ प्याराफिट बन्न ढिलाई भएकाले उद्घाटन सत्रको मिति तोक्न नसकिएको हो । त्यो काम जतिसक्यो छिटो सक्छौ । प्याराफिट बन्यो भने कम्तिमा चैत २१ गते नभए २५ गतेभित्र जसरी पनि उद्घाटन समारोह गर्छौ । यसमा सबै जना ढुक्क हुनुहोस्’–उनले भने । यहाँको भौतिक पुर्वाधारको काम हेरेर चैत ८ गतेभित्र राखेप बोर्ड बैठकले मिति तय गर्ने बिष्टको भनाई छ ।
प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगन्ज रंगशाला मैदान, सोही स्थानमा ६५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगन्जमै सुटिङ रेन्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा रहेको क्रिकेट मैदान, घोराहीमा बासकेटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लनटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिएका छन् ।


प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार ०९:१०  |
error: Content is protected !!