कोहलपुरमा बैंकर्स र उद्योग, व्यवसायीले होली मनाए


बाँके : नेपालगन्ज पछिको दोस्रो ठुलो शहर कोहलपुरमा रहेका बैंक तथा बित्तिय संस्थाहरु आवद्ध कोहलपुर बैंकर्स क्लव सामाजिक क्षेत्रमा सक्रिय भएको छ । बिशुद्ध आफ्नो काममा मात्र होइन कोहलपुरक्षेत्रकै विकास र समृद्धिमा हातेमालो गरिरहेका छन् । ‘हाम्रा पनि सामाजिक उत्तरदायित्वहरु छन् । त्यसैलाई मनन् गर्दै सामाजिक क्षेत्रमा सक्रिय बन्न खोजेका हौं ।’ –कोहलपुर बैंकर्स क्लवका प्रवक्ता बसन्त कुमार रेग्मीले भने । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका शाखा प्रबन्धक समेत रहेका रेग्मीका अनुसार सर्वसाधारणदेखि स्थानीय नीजि क्षेत्र, जनप्रतिनिधि, शैक्षिक लगायत हरेक क्षेत्रसंग सहकार्य हुँदै आएको छ । मंगलबार मात्र कोहलपुर बैंकर्स क्लवले उद्योगी, व्यवसायीहरुसंग होली मिलन कार्यक्रम आयोजना गरेको छ ।

नीजिक्षेत्रसंगको सहकार्यलाई आत्मसाथ गर्दै कोहलपुर उद्योग व्यापार संघका पदाधिकारी र अन्य व्यवसायीसंग होली मनाईएको रेग्मीले जानकारी दिए । कार्यक्रममा ब्यापार संघका महासचिव तेजप्रकाश अधिकारी, बैंकर्स क्लव कोहलपुरका अध्यक्ष डिल्लीराज भुषाल लगायतको सहभागिता थियो । यसैबीच मंगलबार नै कोहलपुर बैंकर्स क्लवको नेतृत्व फेरिएको छ । अध्यक्ष एवं ग्लोवल आईएमई बैंकका शाखा प्रबन्धक भुषाल सरुवा भई अन्यत्र गएकाले नयाँ अध्यक्षमा जनता बैंकका शाखा प्रबन्धक रामहरी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको प्रवक्ता रेग्मीले बताए । पूर्व अध्यक्ष भुषाल र प्रभु बैंकका शाखा प्रबन्धक बिकेश श्रेष्ठलाई बिदाई गरिएको छ भने नवआगन्तुक शाखा प्रबन्धकहरुलाई स्वागत गरिएको छ ।

प्रकाशित मितिः     ५ चैत्र २०७५, मंगलवार १८:३३  |