नेपालगन्ज : बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने भएको छ । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन ।
‘बाँके र बर्दियामा लगानीको प्रशस्त सम्भावना छ । तर पनि लगानीकर्तालाई आर्कषित गर्न सकिरहेका छैनौं ।’ लगानी,पर्यटन लगायतका बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष राणाले भनिन्–‘अब पश्चिम पनि लगानीको क्षेत्र हो भन्ने कुरा देश बिदेशमा चिनाउन लगानी सम्मेलन गर्ने सोंच बनाएका छौं ।’ नेपालगन्ज निवासी राणाले आफ्नो क्षेत्रका लागि केही गरौं भन्ने सोंचका आधारमा लगानी सम्मेलनको पहल गरिरहेको बताएकी छन् ।
‘भारतीय र चिनिया लगानीकर्तालाई लगानी सम्मेलनमा ल्याउन सकेजति पहल गर्छु’– अध्यक्ष राणाले भनिन् । लगानी सम्मेलनको बिस्तृत योजना र लगानीको क्षेत्र पहिचान गर्न अध्यक्ष राणाले नेपालगन्ज उद्योग वाणिज्य संघ लगायत यसक्षेत्रको नीजिक्षेत्रलाई आग्रह गरेकी छन् । राजधानी काठमाण्डौंमा चैत अन्तिम साता लगानी सम्मेलनको तयारी भइरहेका बेला नीजि क्षेत्रको अगुवा संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षले नेपालगन्जमा लगानी सम्मेलन गर्ने घोषणा गरेर पश्चिम क्षेत्रलाई आर्कषित गरेकी छन् । काठमाण्डौंमा हुन लागिरहेको लगानी सम्मेलनमा बाँकेको नौवस्तास्थित औद्योगिकक्षेत्रलाई प्राथमिकतामा साथ पार्ने कार्यमा अध्यक्ष राणाले भुमिका खेलेकी छन् ।
‘पर्यटन, जडिबुटीको प्रशोधन उद्योगमा प्रशस्त सम्भावना छ ।’ अध्यक्ष राणाले भनिन–‘जोकोहीले यसमा लगानी गर्न सक्छन् ।’ बिदेशी लगानी भित्रा्उँदा स्वदेशी उद्योगलाई मार पार्न नहुने भन्नेमा आफुहरु सचेत रहेको राणाले बताईन । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले लगानी सम्मेलनले यस क्षेत्रको समृद्धिको ढोका खोल्ने बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, बरिष्ठ उद्योग कन्हैयालाल बैद्य, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी रबिन्द्रनाथ शुक्ला,चिरञ्जीवी ओली सलाउद्धिन जसगढ, भिम कंडेल, भिम रानाभाट लगायतले उद्योगी, व्यवसायीले झेल्नुपरेको व्याजदर र कर बृद्धि लगायतका समस्याका बारेमा बोलेका थिए । उनीहरुले पश्चिमक्षेत्रमा लगानी बृद्धि गर्न आवश्यक रहेको तर बिदेशी लगानी भित्रिदा स्वदेशी लगानी डुब्न दिन नहुने बताए ।