मानसरोवरका तिर्थयात्रीलाई बिदाई गर्न उत्तरप्रदेशका मुख्यमन्त्री नेपालगन्ज आउने !


गत पुस महिनामा मुख्यमन्त्री आदित्यनाथसंग नेपाली व्यवसायीको नेतृत्व गर्दै सामुहिक भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ।

बाँके : मानसरोवर तिर्थयात्रीलाई बिदाई गर्न भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालगन्ज ल्याउने पहल भइरहेको छ  । नेपालगन्ज मानसरोवार तिर्थयात्रा जाने अत्यन्त छोटो नाकाका रुपमा रहेको छ । आगामी बैशाखदेखि मानसरोवर जाने सिजन सुरु हुन्छ ।
सम्भवत बैशाख महिनामा मानसरोवार जान आउने भारतीय तिर्थयात्रीको पहिलो लटलाई हरियो झण्डा सहित बिदाई गर्न मुख्यमन्त्री योगी आदित्यनाथलाई ल्याउने गरी तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन । नेपालगन्जका उद्योगी, व्यवसायी समेतलाई लिएर केही महिना अघि अध्यक्ष राणाले लखनउमा मुख्यमन्त्री आदित्यनाथलाई भेटेकी थिईन । भेटमा नेपालगन्ज आउन निम्ता दिईएको थियो ।
यतिबेला मुख्यमन्त्रीलाई नेपालगन्जमा ल्याउन नीजिक्षेत्रले सरकारी र भारतीय दुतावाससंग निरन्तर सम्पर्क गरिरहेको छ । नेपालगन्जसंग सिमा जोडिएको ३० करोड बढि जनसंख्या भएको भारतकै सबैभन्दा ठुलो प्रदेश उत्तरप्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गर्दा यहाँको धार्मिक तथा पर्यटकियस्थलको प्रचारमा सहयोगी हुने बिश्वास गरिएको छ ।
‘३० करोड उत्तरप्रदेशका जनता मध्ये थोरैलाई मात्र पनि नेपालगन्ज पर्यटकका रुपमा भित्रा्उन सक्यौ भने ठुलो फाईदा हुनछ’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने,–‘त्यसैका लागि मुख्यमन्त्री आदित्यनाथलाई बोलाएका छौं ।’

प्रकाशित मितिः     ११ चैत्र २०७५, सोमबार ०७:२१  |