गणेशराज पोखरेल : सिटिजन्स बैंकको सिइओ बन्ने बर्दियाली


नेपालगन्ज : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ । बर्दियाको गुलरिया वडा नम्बर ७ निवासी पोखरेल लामो मेहेनत र परिश्रमपछि देशकै ठुलो मध्येको एक बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न पुगेका छन् ।

२०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका पोखरेललाई २०७५ साल चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४ वर्षको कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समयावधि समाप्त भएपश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । साथै २०६५ साल देखिनैे दोस्रो वरियतामा रही बैंकमा कार्यसम्पादन गर्दै आएका थिए ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्के्टिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको बैंकका प्रवक्ता उमंग शर्माले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ । बैंकमा आबद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले “भित्र सिस्टम र बाहिर इमेज” लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताएका छन् ।

नीति नियमको अनुपालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पु¥याँउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । डा. शंकर प्रसाद शर्मा, वरिष्ठ अर्थ्विद अध्यक्ष रहेको बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

प्रकाशित मितिः     १२ चैत्र २०७५, मंगलवार १३:३५  |