कृष्णसार एफएमको दशौ बार्षिकोत्सव


नेपालगन्ज : कृष्णसार एफएम ९४ मेगाहर्जको आज दशौं बार्षिकोत्सव, भव्यतापुर्वक मनाइंदैछ । रेडियोले दस वर्ष, दसकौं बलियो उत्साह नाराका साथ दसौं वार्षिकोत्सव मनाइरहेको हो । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको कृष्णसार एफएमले आज दस वर्ष पूरा गरेको हो ।
रेडियोले आज नेपालगन्जमा कृष्णसारका दस वर्ष, अभ्यास र उपलव्धि विषयक सम्बाद कार्यक्रम गरेको छ । कार्यक्रमका सहभागि नेपालगंजका विभिन्न क्षेत्रका अगुवाहरुले यस क्षेत्रकै अग्रणी संचारमाध्यमको रुपमा कृष्णसारले आफ्नो पहिचान बनाएको भन्दै कृष्णसारको समग्र विकासका लागि समुदायको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो अभियानमा कृष्णसार एफएम रोलमोडेल बनेको बताउंदै सामुदायिक संचार माध्यमका लागि सबैले योगदान पुरयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार र स्थानीय तह रेडियो मैत्री बन्नु पर्ने र सोही अनुसारका संचार निति निमार्ण गर्नु पर्ने बताउनु भयो ।
बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले कृष्णसार एफएमले स्थानीय मुद्दा उठानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संचारमाध्यमले समाज परिवर्तन गर्ने किसिमका सवाललाई प्राथमिकता दिई सिमान्तकृत समुदायको अवाज उठाउनु पर्ने बताउनु भयो । नेपाली काग्रेस बाँकेका सभापति किरण कोइरालाले सिमाका समस्या, समाजका बिकृति र अस्पतालमा शौचालयका सवाललाई उठाउनुपर्ने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले मिडियाको विकासमा स्थानीय सरकारको दायित्व रहेकाले नेपालगन्जमा संचार निति निमार्णको कार्य शुरु भएको जानकारी दिनु भयो । बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुले जहिले पनि कृष्णसार एफएम सुन्ने बताउंदै धार्मिक सद्भाव, शान्ति सुरक्षा, बाढी प्रकोप र सुशासन प्रबद्र्धन गर्ने किसिमका सवाललाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।
कार्यक्रममा एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले रेडियोको दश वर्षको अभ्यास र एफएमका प्रमुख कार्यक्रमहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रम संयोजक माधव अधिकारीले कृष्णसार एफएमले प्रसारणमा गरेका कार्यक्रमले समुदायमा पारेको प्रभावका उदाहरणहरु प्रस्तुत गर्नु भएको थियो ।
रेडियो संचालन गर्ने संस्था समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष राकेश कुमार मिश्रले रेडियोको आगामी कार्ययोजना बारे जानकारी गराउदै सहभागिहरुलाई धन्यबादसहित समापन गर्नुभएको थियो । कृष्णसार अनलाइन डट कम डट एनपीको औपचारिक रुपमा शुभारम्भ भएको छ । कृष्णसार एफएम ११ वर्ष प्रवेश गरेको अवसरमा सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले आज कृष्णसार अनलाइनको शुभारम्भ गर्नु भएको हो ।
समुदायका लागि सञ्चार अभियान नेपालले कृष्णसार एफएम स्थापना गरेको ११ वर्षपछि दोस्रो मिडियाको रुपमा अनलाइन मिडिया सुरु गरेको छ । अनलाइन केही महिनादेखि नियमित रुपमा सन्चालन हुँदै आएको थियो । समाचारमूलक अनलाइन पोर्टल भए पनि कृष्णसार अनलाइनमा कृष्णसार रेडियो लाइभ सुन्न सकिन्छ । कृष्णसार एफएमका मुख्य मुख्य कार्यक्रमहरु सुन्न र डाउनलोड गरेर सुन्न सकिन्छ । एफएमले अहिले साँझ वर्थ डे केक काटेर एघारौं जन्मोत्सव पनि मनाउंदै छ ।
एफएमले आज साँझ वर्थ डे कार्यक्रम गरि एघारौं जन्मोत्सव पनि मनाएको छ ।

 

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार १८:३७  |