नेपालगन्ज नाकाबाट मात्र रु १ अर्ब ६९ करोडको तरकारी भित्रियो


बाँके : नेपालगञ्ज नाका भएर चालु आर्थिक वर्षको फाल्गुण मसान्तसम्म रु १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको तरकारी भित्रिएको  छ । ६६ हजार ७ सय ६७ मेट्रिक टन तरकारी आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

गएको आर्थिक वर्षमा ९१ करोड ८२ लाख ८६ हजार रुपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको थियो । यसैगरी दैनिक सयौं सर्वसाधारणले सीमावर्ती रुपैडियाबाट घरायसी प्रयोजनका लागि हरियो तरकारी भित्रा्उने गरेका छन् । यसरी तरकारी ल्याउने सर्वसाधारणले भन्सार तिर्दैनन् ।

नेपालगञ्जको सीमावर्ती रुपैडिया बजारमा रहेका तरकारी बजारमा नेपाली ग्राहकहरु मात्रै भेटिने गरेका छन् । व्यवसायीहरुले नेपालगञ्ज भित्र्याएको हरियो तरकारी काठमाडौं, पोखरा, सुर्खेत, दाङ लगायतका जिल्लामा समेत पुग्ने गरेको नेपालगन्जका तरकारी व्यवसायीहरुले बताए ।  नेपालगञ्जको रानीतलाउ र विपीचौकमा रहेका तरकारी मण्डिमा पछिल्लो समय स्थानीय उत्पादन भएको तरकारी समेत पाइने भए पनि अधिकांश तरकारी भने भारतबाट भित्रा्ईने गरेको बिक्रीका लागि राख्ने गरिएको हुन्छ । भारतबाट आलु, प्याज, टमाटर, हरियो सागपात र तरकारी दैनिक भन्सार भएर भित्रिने गरेको छ । नेपालगञ्जमा रहेका दुईवटा तरकारी बजार बाहेक सयौं ठेला व्यवसायीले समेत भारतीय तरकारी बिक्री गर्दछन् ।

प्रकाशित मितिः     १७ चैत्र २०७५, आईतवार १०:१०  |