बैंकिङ र ईबैँकिङ बीच के के छन् भिन्नता


परम्परागत बैँकिङ र ईबैँकिङ दुबैमा फाइदा र बेफाइदा तथा सकारात्मक र नकारात्मक पक्ष छन् । उपभोक्ताले यी दुबै प्रकारका अथवा यीमध्ये एक सेवा प्रयोग गर्न सक्छन् । परम्परागत बैँकिङ र ईबैँकिङबीचको फरक निम्नानुसार छन् ।

परम्परागत बैँकिङ
परम्परागत बैँकिङमा, एक उपभोक्ताले बैँकमा गएर बैँक एकाउन्ट खोल्छ, स्थानीय बैँकमा पैसा जम्मा गरेर बचतको सुविधा लिन्छ । चेक, काउन्टर पेमेन्ट र बैँक ड्राफ्टमार्फत उपभोक्ताले पैसा झिक्न सक्छ, आफूले जम्मा गरेको पैसा प्रयोग गर्न सक्छ । बैँक म्यानेजरसँग भेटेर उपभोक्ताले आफ्नो समस्या बताउन सक्छ । साथै, बैँकबाट धितोमा ऋण लिन सक्छ । परम्परागत बैँकिङ पनि पहिलेको तुलनामा एकदमै व्यवस्थित भएको छ । उपभोक्ताको बचतको सुरक्षाको लागि विभिन्न व्यवस्था गरिएका छन् । ठग तथा लुटेराहरुबाट बचाउ गर्नका लागि हरेक बैँकमा सिसि क्यामेरा फिट गरिएका छन् । अधिकतम खर्च गरेर विभिन्न सुरक्षाका व्यवस्था गरिएका छन् ।

जति नै सुरक्षा अपनाइएपनि परम्परागत बैँकिङका विभिन्न बेफाइदाहरु छन् । सबैभन्दा पहिले त परम्परागत बैँकिङमा लुटपाटको बढी डर हुन्छ । पैसाको प्रत्यक्ष कारोबार हुने भएकाले चोरी, तथा लुटपाटको डर हुने हुन्छ । बैँकहरुको खुल्ने र बन्द हुने समय निश्चित हुन्छ । त्यसैले परम्परागत बैँकिङमा बैँकिङ सेवा लिने समय पनि निश्चित हुन्छ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र उपभोक्ताले बैँकिङ सेवा लिन पाउने हुन्छन् ।


ईबैँकिङ
परम्परागत शैलीबाट बैँकिङ सेवा लिँदा भएका अप्ठेराहरुलाई मध्यनजर गर्दै ईबैँकिङको अवधारणा ल्याइएको हो । संसार विज्ञान र प्रविधिको युगमा बढ्दै जाँदा ईबैँकिङको लोकप्रियता बढ्दै गइरहेको छ । ईबैँकिङलाई इन्टरनेट बैँकिङ अर्थात् आधुनिक बैँकिङको रुपमा पनि बुझ्न सकिन्छ जसमा उपभोक्ताले आफ्नो बैँक एकाउन्टको आईडी र पासवर्ड प्राप्त गर्छन् । आफ्नो एकाउन्ट आइडी र पासवर्डको मद्धतले उपभोक्ताले आफ्नै घरको कम्प्युटर तथा मोबाइलबाट इन्टरनेटको उपस्थितीमा आफ्नो एकाउन्टमा भएको रकम थाहा पाउन सक्छन् । यति मात्र नभएर इन्टरनेटबाट नै बील तिर्न र रिसिप्टप्राप्त गर्न समेत ईबैँकिङको प्रयोग गर्न सकिन्छ । छोटकररीमा भन्नुपर्दा, ईबैँकिङ अर्थात् इलेक्ट्रोनिक बैँकिङ आधुनिक समाजको त्यो प्रणाली हो जसको सहयोगमा उपभोक्ताले घरमै बसीबसी वित्तिय सेवा उपभोग गर्न पाउँछन् । ईबैँकिङ परम्परागतको तुलनामा प्रयोगका लागि सहज हुन्छ । बैँक नगइकन आफ्नो पैसाको सुरक्षा गर्न सकिने भएकाले ईबैँकिङबाट समयको समेत बचत हुने हुन्छ । साथै ईबैँकिङबाट वातावरणको समेत सुरक्षा हुन्छ । उदाहरणका लागि यदि तपाईँलाई बैँकबाट पैसा झिक्नु छ या बैँकमा पैसा जम्मा गर्नु छ भने तपाई बैँकमै जानुपर्ने हुन्छ जसका लागि तपाईँलाई सवारीको आवश्यकता पर्छ । सवारीको ज्यादा प्रयोग वातावरणका लागि अवश्य पनि राम्रो मानिँदैन । ईबैँकिङ परम्परागत बैँकिङको तुलनामा छिटो समेत हुन्छ । बैँकमा गएर लाइन बसेर पैसा जम्मा गर्ने झन्झट हुँदैन भने पाँच मिनेटमा नै इन्टरनेट विलिङको प्रयोगबाट पैसा जम्मा गर्न तथा पैसा निकाल्न
सकिन्छ ।

जतिसुकै सहज र छरितो भएतापनि ईबैँकिङका पनि आफ्नै किसिमका समस्याहरु छन् । इन्टरनेटको प्रयोगबाट गरिने वित्तिय कारोबार भएकाले यसका ह्याकिङको डर हुन्छ । एकातिर प्रविधिले ईबैँकिङमार्फत मानव जिवनलाई सरल बनाइदिएको छ भने प्रविधिकै अर्को पाटोमा ह्याकिङ जस्ता नकारात्मक कुराहरु पनि उत्पादन भइरहेको छ जसको माध्यमबाट अरुको बैँक एकाउन्टको आईडी र पासवर्ड पत्ता लगाई ठूलो रकम हिनामिना गर्न सकिन्छ अर्थात् पासवर्ड नै चेन्ज गरेर पुरै रकम नै आफ्नो बनाउन सकिन्छ । अलि अप्ठेरो तथा ह्याक गर्न कठिन हुने खालको पासवर्ड राखेर ह्याकिङलाई निरुत्साहित गर्न सकिएपनि यसलाई निर्मूल नै पार्ने प्रविधि भने आजसम्म बनेको छैन ।

बैंकिगखबरबाट

प्रकाशित मितिः     १५ चैत्र २०७५, शुक्रबार १८:३५  |
error: Content is protected !!