ल्याण्डफिल्ड साईड : नेपालगन्ज उपमहानगरको फोहोर व्यवस्थापन हुने, मोहर कमाउने


बाँके १४ चैत : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र उत्सर्जन हुने फोहर ब्यबस्थापनका लागी एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँकेको हिर्मिनियामा १० बिगाह क्षेत्रफलमा एशियाली बिकास बैंकको सहयोगमा एकिकृत शहरी बिकास कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाले ल्याण्डफिल्ड साईड निर्माण गर्न लागेको हो ।

करिब ३८ करोडको लागतमा निर्माण भैरहेको उक्त फोहर ब्यबस्थापन केन्द्र ब्यबस्थित र देशकै नमूना बन्ने गरी संरचना निर्माण भैरहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगन्ज शहर भरी उत्सर्जन हुने फोहरलाई सो केन्द्रमा लगेर छुट्याई जैविक मल उत्पादन गर्ने लक्ष्यका साथ कामलाई अगाडी बढाईएको छ । उत्पादन भएको मल उपमहानगरपालिकाको दिगो आम्दानीको श्रोत समेत हुने छ ।  आगामी ५० बर्ष सम्म नेपालगन्ज शहरको फोहर ब्यबस्थापनमा कुनै समस्या नआउने गरी आधुनिक संरचना बन्न लागेको हो । नेपागन्ज उपमहानगरपालिकाका वातावरण इनिजनियर प्रकाश डिसीले फोहर ब्यबस्थापन केन्द्र शहर भन्दा टाढा रहेकाले वातावरणिय दृष्टीकोणले पनि उपयुक्त भएको बताए । उनले ल्याण्डफिल्ड साईड सञ्चालनमा आएसंगै फोहरमैला ब्यबस्थापनको समस्या समाधान हुने विश्वास ब्यक्त गरे ।

ल्याण्डफिल्ड साईड निर्माणको ९५ प्रतिशत काम सकिएको भन्दै अब ढिलै भएपनि एक महिना भित्र सञ्चालनमा आउने एकिकृत फोहरमैला ब्यबस्थापन आयोजनाका इन्जिनियर प्रकाश शिवाकोटीले बताए । उनले कुहिने र नकुहिने फोहरलाई छुट्टा छुट्टै ब्यबस्थापन गरिने
जनाए । वातावरणमा कुनै असर नपर्ने भन्दै कुहिने फोहरबाट जैविक मल उत्पादन गरी नेपालगन्ज उपमहानगरपालिको दीर्घकालिन आम्दानीको श्रोत हुने उनको भनाई छ ।

हाल नेपालगन्ज शहरको फोहर ब्यबस्थापनमा भने चुनौती छ । ल्याण्डफिल्ड साईड सञ्चालनमा आए नेपालगन्जबाट उत्सर्जन हुने फोहोर व्यवस्थित तरिकाबाट व्यवस्थापन मात्र हुँदैन करिब ३० जनाले प्रत्यक्ष रोजगारको अवसर पाउने छन् । फोहरबाट मोहर कमाउने उद्देश्यका साथ नेपालगन्ज उपमहानगरपालिकाले यो आयोजनालाई तिब्रता दिएको छ । २३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट हाल दैनिक ३२ टन फोहोर उत्पादन हुने गरेको उपमहानगरपालिकाले जनाएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावका कारण कुनै निश्चित ठाउँमा नभएर खाली जग्गामा फोहोर फाल्दै माटोले पुर्दै आइएको छ । निर्माणाधीन फोहोर व्यवस्थापन केन्द्र संचालनमा आएपछि यो समस्या हल भएर जाने भन्दै नगरबासी हर्षित भएका छन् ।

प्रकाशित मितिः     १५ चैत्र २०७५, शुक्रबार १८:०८  |