नेपालगन्ज : हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।
हावाहुरीका कारण सोमबार बिहान ३ बजेसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। प्राप्त जानकारी अनुसार बारामा २६ र पर्सामा एक जनाको मृत्यु भएको छ। मृतक र घाइतेको संख्या बढिरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको वीरगञ्ज हेल्थ केयर, नारायणी अस्पताल, वीरगञ्ज नेसनल मेडिकल कलेज, गण्डक अस्पताल र न्युरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।
आइतबार राति आएको तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गरेको थियो। कतिका पक्की घर पनि भत्केका छन्। कतिको घरबास उठेको छ भने धेरैजसो घरबाहिर छन्। संघीय प्रहरी इकाई कार्यालय धनुषाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाले अनुसार बाराको सुवर्ण गाउँपालिकाका ४, थ्रेटाका १७ र पर्सौनीका ६ जनाको मृत्यु भएको बताए। वीरगञ्ज–१२ गण्डकमा बिजुलीको पोल ढल्दा एक जनाको मृत्यु भएको उनले जानकारी दिए।
‘मृतकको संख्या बढ्न सक्छ, कोही गम्भीर घाइते, कोही सामान्य घाइते छन्,’ कोइरालाले सेतोपाटीसँग भने, ‘घाइतेको संख्या अझै पनि यकिन गर्न सकिएको छैन।’ कोइरालाका अनुसार उद्धार र घाइतेको उपचारका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या खटिएको छ।