‘यसपटक नेपालगन्जमा बिजुलीका कारण दुःख पाइदैन’


रामदुलार यादव, प्रमुख, नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र

नेपालगन्ज : गर्मीसंगै नेपालगन्जमा ‘मौसमी दुःखका दिन’ शुरु हुन्छ । अत्याधिक गर्मीले यहाँको जनजीवन कष्टकर हुन्छ । त्यसमा झन् अनियमित बिद्युतले पार्ने समस्या त बयान गरिसाध्य हुँदैन । चर्को गर्मी र बिद्युत संकटबाट निम्तिने दुःख सम्भवत कुनै नेपालगन्जबासीले सम्झिन चाहाँदैनन् ।
यतिबेला गर्मी शुरु भइसकेको छ । गर्मीसंगै बिद्युत सेवा अनियमित हुन थालेपछि नेपालगन्जका सर्बसाधारणले फेरी पहिलेको जस्तै कष्ट सहनुपर्ने त होइन ? हामीले यही प्रश्न बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्र प्रमुख रामदुलार यादवलाई गरेका छौं । उनले यो प्रश्नको जबाफ दिंदै पष्ट शब्दमा भने,–‘ढुक्क हुनुहोस् बिद्युतको संकट पहिलेको जस्तो हुँदैन । धेरै राहात महसुस हुन्छ ।’ एक वर्षदेखि नेपालगन्जमा बितरण केन्द्रमा रहेर काम गरिरहेका प्रमुख यादवले बिद्युत संकट हुन नदिन पूर्वतयारी गरिएको बताउँछन् । उनीभन्छन्,–‘कल्पना गरे भन्दा अरु नै केही प्राविधिक समस्या आयो भने अर्कै कुरा ,नत्र अहिलेकै अवस्थामा नेपालगन्जमा बिद्युतको समस्या आउँदैन । पूर्वतयारी धेरै गरेका छौं ।’
प्रमुख यादवले भने अनुसार नेपालगन्जमा बिद्युत समस्या समाधान हुन नदिन यस्तो पूर्वतायरी गरिएको छ ।

१. नयाँ ट्रान्फरमर जडान

नेपालगन्जमा बिद्युत समस्या हुनुको कारण मध्ये एक हो, पुराना ट्रान्सफरमर । अत्याधिक लोड धान्न नसक्दा ट्रान्सफरमरहरु गर्मीयाममा पड्किने गरेका थिए । तर एक वर्षको अवधीमा नेपालगन्जको बजार क्षेत्रमा मात्र २५ वटा नयाँ ट्रान्फरमर जडान गरिएको छ । ट्रान्सफरमर पड्किएर बिद्युत जाने समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ ।

२. कोहलपुर सबस्टेशनको क्षमता बृद्धि

नेपालगन्जमा खपत हुने बिद्युत भारतको नानपारा र राष्ट्रिय प्रशारण लाईनबाट आउँछ । राष्ट्रिय प्रशारणबाट आउने बिद्युत कोहलपुर सबस्टेशनबाट नियन्त्रण गरिन्छ । कोहलपुरमा रहेको सबस्टेशनको ट्रान्सफर क्षमता अहिले बढाईएको छ । ६० एमभिए क्षमताको ट्रान्फरमर रहेकोमा अहिले ९३ एमएभिए क्षमताको ट्रान्सफर जडान गरिएको छ । यसले नेपालगन्जको बिद्युत संकट हटाउन महत्वपुर्ण भुमिका खेल्ने छ । केहीदिनमै नयाँ ट्रान्फरमर सन्चालन गरिनेछ ।

३. नानपारा प्रशारण लाईनमा सुधार

नेपालगन्जमा भारतबाट आयात गरिएको बिद्युत खपत हुन्छ । बर्षौ पुरानो दुईदेशिय सम्झौता अन्र्तगत बिद्युत खपत भइरहेको छ । उक्त बिद्युत नेपालगन्ज ल्याउनका लागि प्रयोग भएका पोल र तार जिर्ण पुराना भइसकेका छन् । सानो हावाहुरी आउँदा समेत पोल ढल्ने र तार चुडिने समस्या छ । जसका कारण घण्टौंसम्म नेपालगन्जको बिद्युत अवरुद्ध हुन्थ्यो । तर अहिले पोल र तारसंग जोडिएका रुखहरु काटेको र प्रशारण लाईमा धेरै सुधारको काम भएको छ । त्यहाँको प्रशारण लाईन पुरै परिवर्तन नभएको भएपनि सुधार भएको छ ।

४. खपत गत वर्षभन्दा बढ्यो, जोहो पनि भएको छ

गत वर्ष नेपालगन्जक्षेत्रमा २५ मेगावाट बिद्युत खपत भएको थियो । तर यसपटक बिद्युतको माग बढेर २८ मेगावाट पुग्ने अनुमान गरिएको छ । उद्योग,कलकारखाना र व्यक्तिगत प्रयोजनका लागि बिद्युतको माग बढेको हो । बिद्युत आपुर्तीको माग बढे अनुसार त्यसको व्यवस्थापन हुने प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले जानकारी दिएको छ ।

५. झ्याप्प,झ्याप्प बिद्युत जाने समस्या के हो ?

लोडसेडिङ्ग हुने सम्भावना छैन । तर छिनछिनमै बिजुली गइरहने अवस्था भने यथावत छ । बिद्युत प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख यादवका अनुसार राष्ट्रिय प्रशारण र नानपाराबाट आउने बिद्युत आलोपालो गरी खपत गर्नुपर्ने अवस्था भएका बेला प्राविधिकरुपमै यस्तो समस्या आउँछ । केन्द्रमै निर्देशन अनुसार नेपालगन्ज बितरण केन्द्रले नेपालको बिद्युत कम भएको अवस्थामा भारतको बिद्युत प्रयोग गर्नुपर्छ भने भारतको बिद्युत अपुग भएको अवस्थामा नेपालको बिद्युत प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बिद्युत सर्किट फेर्दा बिद्युत आउने जाने भइरहन्छ । यस्तो समस्या पनि समाधान गर्नका लागि केन्द्रमा पहल भइरहेको यादवले बताएका छन् ।

६. फोन गर्दा अब सजिलै उठ्छ

बिद्युत गएको गुनासो सुनाउन नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज केन्द्रमा फोन गर्दा कमै उठ्छ । तर अव सजिलै उठ्ने व्यवस्था गरिएको छ । कतिपय फोन त बितरण केन्द्र प्रमुख आफैले उठाउँछन् । समस्या सुन्छन् र समाधानको पहल गर्छन । पहिले एउटा मात्र टेलिफोन लाईन रहेकोमा यसपटक थप गरिएको छ ।

प्रकाशित मितिः     १८ चैत्र २०७५, सोमबार १५:२९  |