बाँके : भारतबाट नेपालगन्जक्षेत्रका लागि गत आर्थिक वर्षमा ४६ करोड भन्दा बढि रकमको बिजुली आयात गरेको छ । नेपालगन्जमा बिद्युत प्रयोग गरे वापत प्राधिकरणले भारतलाई गत वर्ष रु ४६ करोड ५२ लाख १२ भुक्तानी गरेको थियो । हरेक वर्षजसो यही मूल्य हाराहारीमा भारतबाट बिद्युत आपुर्ती भइरहेको छ । नेपालगन्जमा राष्ट्रिय प्रशारण लाईन र भारतको नानपाराबाट बिजुली खरिद गरिन्छ ।
नेपालगन्जमा भारतबाट १० मेगावाट बिजुली आउने गरेको छ । १५ मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनबाट आउने गर्छ । गत वर्ष नेपालगन्जमा क्षेत्रमा २५ मेगावाट बिजुली खपत भएको थियो । यसवर्ष ग्राहकको संख्या बढेकाले २७ मेगावाटसम्म खपत हुने अनुमान गरिएको बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए । नेपालगन्ज क्षेत्रमा ५२ हजार ग्राहक रहेका छन् ।
नेपालगन्ज–नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गरिने
नेपालगन्ज– नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गर्न बिद्युत प्राधिकरणले आन्तरिक अध्ययन सुरु गरेको छ । प्राधिकरण स्रोतका अनुसार ग्रीड बिभागका उच्च अधिकारीहरुको एउटा टोलीले उक्त क्षेत्रको प्रशारण लाईन १३२ केभिए क्षमताको बनाउने गरी अध्ययन सुरु गरेको हो ।
भारतको नानपाराबाट नेपालगन्जसम्म जोड्ने बिद्युत प्रशारण लाइनको क्षमता ३३ केभिए रहेको छ । अहिले नेपालगन्जमा भारतबाट १० मेगावाट बिद्युत आइरहेको छ । तर निकट भविष्यमा ८० भन्दा मेगावाट क्षमताको बिद्युत आयात गर्न मिल्ने गरी क्षमता बिस्तार गर्न पहल भइरहेको छ ।
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवले नेपालगन्ज–नानपारा अन्तरदेशिय बिद्युत प्रशारण लाईनको क्षमता बिस्तारका लागि अध्ययन भएको पुष्टि गरे । उनले भने,–‘अध्ययन भएको छ । बाँकी काम कहिले र कस्तो स्वरुपमा कार्यान्वयन हुन्छ भन्न सकिदैन ।’
नेपालगन्ज– नानपारा बिद्युत प्रशारण लाईनको क्षमता बिस्तार गर्दा बाँकेको नीजिक्षेत्रलाई सबैभन्दा धेरै फाईदा पुग्ने छ । कलकारखानाका लागि आवश्यक बिद्युत सहजै उपलब्ध हुनेछ ।