बैजनाथमा च्याउखेतीबाट बार्षिक रू.८० लाख आम्दानी


  • भक्तबहादुर शाही

नेपालगञ्ज :  दुई करोडको लगानीमा बाँके बैजनाथ १ का युवाले सामुहिक च्याउखेती गर्दै आएका छन् । एक करोडमा आधुनिक प्रविधिबाट च्याउ उत्पादन गर्दै आइरहेका युवाहरुले यसबाट आम्दानी गर्न थालेपछि थप एक करोड लगानी गरि च्याउखेती व्यवसायमा लगानी बढाएका हुन् ।बजारमा विदेशी र गुणस्तरहीन च्याउको बिगबिगी बढेको बेला बाँकेका युवा मिलन बस्नेत, सन्तोष शर्मा, अंकित अग्रवाल, सुरेश वोगटी लगायतको समुहले बाँकेको बैजनाथ गाउँपालिका १ गाभरमा भ्याली एग्रो फर्म स्थापना गरेर अर्गा्निक च्याउखेती गर्दै आएको छ ।च्याउखेतीबाट बार्षिक रू.८० लाख आम्दानी गर्ने गरेको मिलन बस्नेतले जानकारी दिए ।

साढे एक बर्ष अघि एक करोडको लगानीमा सञ्चालनमा शुरु गरिएको व्यवसायमा व्यक्तिगत रू.६५ लाख र साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान रकम रू.३१ लाख ५७ हजार ७३७ गरी रू. ९७ लाख २८ हजार ३०९थप लगानी गर्दा शुरूदेखि अहिलेसम्म करीब दुई करोड लगानी भईसकेको फर्मका सञ्चालक बस्नेतले जानकारी दिए ।विगतमा बार्षिक ३० हजार किलो च्याउ उत्पादन भएपनि लगानी थपिएसँगै अहिले च्याउको उत्पादन बढेको छ । फर्मबाट बार्षिक एक सय १२ टनसम्म च्याउ उत्पादन हुन्छ । उत्पादीत् सबै च्याउ बजारमा सहजै खपत भएको छ । बैजनाथमा उत्पादीत् च्याउ कोहलपुर, नेपालगन्ज, सुर्खेत, वुटवल, पोखरा नारायणगढ र काठमाडौंमा खपत भैरहेको सन्तोष शर्माले जानकारी दिए । उनले भने ‘बजारमा च्याउको माग बढेको छ, हामीसँग अहिलेको उत्पादनले माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनौं । त्यसैले अब उत्पादन क्षमता अझै बढाउने योजनामा छौं ।

’अनुदान दिने संस्थाले थप रकम प्रदान गरिसकेकोले अबको केही महीनाभित्रै च्याउको उत्पादन बृद्धिका लागि तीन ओटा नयाँ च्याउ उत्पादन भवन निर्माण गरिने छ । एउटै भवनमा उत्पादन गरिएको च्याउ बजारको माग पुर्ति गर्न नसकेको उनको भनाई छ । ‘नयाँ तीन ओटा भवन थपिएपछि च्याउको उत्पादन बढ्छ र हामी बजार मागलाई पुरा गर्छौं ’ शर्माले थपे ।नेपालमै पहिलो पटक बाँकेको बैजनाथको गाभरमा आधुनिक एसी प्रविधिबाट च्याउ उत्पादन भैरहेकोले स्थानीय तहमा रहेका कच्चा पदार्थको समेत सदुपयोग भएको छ । यति मात्रै होइन् वेरोजगार भएकै कारण तनावमा पर्ने गरेको बैजनाथका महिलाले घरआगनमै रोजगारी पाएका छन् । फर्ममा दैनिक २० जना महिलाले रोजगारी पाएको स्थानीय महिला मीना रावलले बताइन् ।गाभरमा च्याउ फर्म स्थापनाले यहाँका महिलाको आयस्तरमा समेत बृद्धि भएको छ । स्थानीय स्तरमै उपलब्ध हुने गहुँको भुस, कुखुराको सुली चोक्कर लगायतका स्थानीय स्तरका केमिकलको सदुपयोग भईरहेको फर्मका अर्का सञ्चालक अंकित अग्रवाल बताउँछन् ।


च्याउको उत्पादनलाई सशक्त व्यावसायीक उत्पादन गर्ने योजना भएपनि त्यसका लागि सरकारले युवा लक्षित कार्यक्रम, आयआर्जनमुलक कार्यक्रममा आर्थिक तथा प्राविधिक रूपमा प्रयाप्त सहयोग गर्न नसक्दा बजार मागअनुसार तत्कालै उत्पादन बृद्धि गर्न नसकिएको अग्रवालको भनाई छ ।च्याउ उत्पादनका लागि उनीहरुले गाउँघरमै पाइने धानको भुस, पोलिथिनको ब्याग एवम् च्याउको बीउको प्रयोग गर्ने गरेका छन् । धानको भुसलाई पानीमा उमालेर पोलिथिनको भाँडामा राखिन्छ, त्यसपछि त्यसमा च्याउको बीउ हालेर युरोपियन एसी प्रविधिले च्याउ उत्पादन गर्दै आएको उनीहरू बताउँछन् ।

बाह्रै महिना च्याउ उत्पादन गर्ने लक्ष्य रहेको उक्त फर्मले भविष्यमा १५ ओटासम्म भवन निर्माण गरि च्याउ उत्पादन क्षमता बृद्धि गर्ने ती व्यवसायीहरूको योजना छ ।च्याउ उत्पादनका लागि नकुहिएको पराल, नाइट्रोजनयुक्त मल, सुपर फोस्फेट, कृषि चुन, च्याउको बीउ, एमोनियम सल्फेट, ढुसीनाशक विषादी र तराईक्षेत्र भएकाले एसीयुक्त वातावरणको आवश्यक पर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल बताउँछन् । उक्त फर्मले मंगलवार प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम गरी फर्मको उत्पादन क्षमता, अवस्था र भावी योजनाबारे सहभागीलाई जानकारी गराएको थियो ।

#आर्थिक अभियानबाट साभार#

प्रकाशित मितिः     २२ चैत्र २०७५, शुक्रबार ०७:५४  |
error: Content is protected !!