- उद्योग
यस प्रदेशका तराईका जिल्लाहरु उद्योगको लागि उपयुक्त रहेका छन् । केन्द्रीय तथ्याङ्ग विभागको आर्थिक वर्ष २०६८।६९ मा गरेको १० जना वा यस भन्दा बढी रोजगारी दिएका उत्पादनमुलक उद्योगहरुको सर्वेक्षण अनुसार यस प्रदेशमा समग्रमा नौ सय जति उद्योगहरु संचालित रहेको देखिन्छ जहाँ ४० हजार जति मानिसहरु संलग्न छन् । यस प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै३२० वटा उद्योगहरु संचालनमा छन् । त्यसपछि बाँकेमा १८५ वटा, कपिलबस्तुमा ११० वटा उद्योगहरु संचालनमा छन् । पहाडी जिल्लाहरुमा सबैभन्दा कम रोल्पामा १ वटामात्र उद्योग रहेको देखिन्छ । त्यस्तै, प्यूठानमा ३ वटा र गुल्मीमा ८ वटा मात्र उद्योग संचालनमा छन् । दाङ्गमा ७८ वटा उद्योगहरु रहेका छन् । यस प्रदेशमा जगदम्बा, अर्घाखाँची, दाउन्ने, सोनापुर, घोराही जस्ता ठूला सिमेन्ट उद्योगहरु संचालनमा रहेका छन्। उद्योगहरुको संख्याको दृष्टिकोणले यो प्रदेश नेपालको दोस्रो धेरै उद्योगहरु भएको प्रदेशमा पर्दछ । यस प्रदेशमा वुटवल र नेपालगञ्ज गरी दुईवटा औद्योगिक क्षेत्र संचालनमा रहेका छन् । भैरहवामा विशेष आर्थिक क्षेत्र पनि संचालनको चरणमा छ ।
- पर्यटन
प्रदेश नं ५ मुलूककै एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । आज पनि कूल पर्यटकको संख्या मध्य कम्तीमा एक चौथाई संख्यामा यस प्रदेशमा भ्रमण गर्दछन् । आन्तरिक पर्यटनका लागि पनि यस प्रदेश देशकै अग्रणी मानिन्छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपालको पर्यटन सम्बन्धि तथ्याङ्क २०१६ का अनुसार सन्२०१६ मा १२ लाख ८५ हजार जति पर्यटकहरु लुम्बिनी पुगेका थिए । ती मध्ये ८२ मुलुकका २ लाख ७० हजार विदेशी पर्यटकहरु रहेका थिए । सन्२०१७ मा लुम्बिनी पुग्ने पर्यटककोसङ्ख्या करिब १५ लाख ५० हजार पुगेको देखिन्छढ । ती मध्ये भारतीय सहित ८७ देशका ३ लाख १ हजार विदेशी पर्यटकहरु रहेका थिए । द्दड। यस प्रदेशमा थुप्रै प्राकृतिक, धार्मिक र सास्कृतिक पर्यटकीय सम्पदाहरु रहेका छन् । उदाहरणको लागि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, चमेरे गूफा, जखेरा ताल, लुम्बिनी, तिलौराकोट, निग्लीहवा, कुदान्, सगरहवा, देवदह, रामग्राम, गोटिहवा,स्वर्गद्वारी, धारपानी, पुरन्धारा छहरा, वाह्रकुने दह, रिडी, रानीमहल, श्रीनगर, सुपा देउराली, जगदीशपूर ताल रहेका छन् । सबै जिल्लाहरुमा धार्मिक मठ मन्दिरहरु रहेका छन् । साँस्कृतिक रुपमा पनि थारु संस्कृति, मगर संस्कृति, अवधी संस्कृति, मुस्लीम संस्कृति र खस–आर्य संस्कृति आदि विद्यमान छन् ।
(प्रदेश नं ५ सरकारले तयार गरेको आर्थिक सामाजिक विकासको स्थिति पत्रमा समेटिएको उद्योग र पर्यटनको अंश मात्र । पुरा स्थिती पत्र हेर्नका लागि http://ocmcm.p5.gov.np/ne/ लगअन गर्नुहोला ।)