भार्गवको अघिल्लो वर्षको बोनस सूचीकरण प्रकृयामा


नेपालगञ्ज : भार्गव विकास बैंकले गत असोज २७ गते पारित गरेको ५.५६ प्रतिशत बोनस शेयर सूचीकरणको प्रकृया अघि बढाएको छ । कम्पनीले उक्त बोनस चैत २४ गते बोर्डमा दर्ता गरेको हो । कम्पनीले २ लाख ६४ हजार कित्ता बोनस शेयर सूचीकरणका लागि बोर्डमा दर्ता गरेको जानकारी दिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले अब केही दिनभित्र दोस्रो बजारमा सूचीकृत हुने जानकारी गराए ।

उनले प्रबन्धपत्र र नियमावलीमा संशोधन सम्बन्धी प्रस्तावहरुको संशोधनका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रकृयाका कारण बोनस सूचीकरणमा केही ढिलाई भएको बताए । भार्गवले चुक्तापूँजी रू. ५० करोड १६ लाख रूपैयाँको आधारमा ५.५६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो ।


यस वर्ष भार्गवले गत वर्षको सञ्चित मुनाफाबाट ६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत ३० गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपालगञ्जमा हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गतेदेखि बुक क्लोज गरेकाले चैत २१ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मितिः     २५ चैत्र २०७५, सोमबार १७:४०  |
error: Content is protected !!