मानसरोवर पार्क एण्ड रिर्सोटले माग्यो झण्डै डेढ सय कर्मचारी,रोजगारीको अवसर


नेपालगन्ज,२८ चैत : नेपालगन्ज– १४ मा दुई अरव लगानीमा निर्माणाधिन मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिर्सोटले झण्डै डेढ सय कर्मचारी मागेको छ । महाप्रबन्धकदेखि सरसफाईकर्मीसम्म १ सय ४३ जनालाई रोजगारीको अवसर रहेको छ । मानसरोवर पार्क एण्ड रिर्सोटले सार्वजनिक सूचना जारी गरी ईच्छुकलाई आवेदन दिन आग्रह गरेको छ ।

रिर्सोटको गत असोजमा बिधिबत शिलान्यास भएको थियो ।  दुई चरणमा गरी दुई अरब लगानी गरेर बन्न लागेको फन पार्क अत्याधुनिक सुविधा सहितको हुने प्रबन्ध निर्देशक ओम मिश्रले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा झण्डै पचास करोड खर्च हुने छ । त्यसमा वाटरपार्क, बिभिन्न खेलहरु र रमाईलो पार्कहरु हुने छ । त्यसपछि थप लगानी हुने उनले बताए । संयोजक पशुपति दलाय मिश्रले नेपालगन्जको पर्यटकिय क्षेत्रलाई माथि उकास्न पार्क निर्माणको तयारी भएको बताएका छन् । उनले यसले आन्तरिक र बाह्य पर्यन क्षेत्रमा महत्वपूर्ण भुमिका निभाउने पनि बताए ।

‘आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरेर यो पार्क निर्माण गर्ने लक्ष्य लिएका छौं । नेपालगन्जको सिधा दिल्ल िउडान भयो भने हामी अझ लगानी थप्ने छौं ।’—मिश्रले भने । उनले यसका लागि नेपालगन्जको बिकास अपरिहार्य भएको र फन पार्कले नेपालगन्जको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने पनि बताए ।

 

प्रकाशित मितिः     २८ चैत्र २०७५, बिहीबार ०७:३८  |