बाँकेमा रहेका मन्टेश्वरीहरुको अनुगमन


नेपालगन्ज, २९ चैत : मन्टेश्वरीहरुको छाता संगठन मन्टेश्वरी एशोसिएसन बाँकेले विहीवार जिल्लाभरि छरिएर रहेका मन्टेश्वरीहरुको अनुगमन गरेको छ । नयाँ शैक्षिक सत्र शुरु हुनलाग्दा पहिलो पटक एशोसिएसनले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको हो ।अनुगमनका क्रममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वैजनाथ गाँउपालिकामा सञ्चालित ८ ओटा मन्टेश्वरीहरुको अनुगमन गरेको छ । मन्टेश्वरी शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गरिएको अनुगमनका क्रममा मन्टेश्वरी विधि अनुसार सञ्चालन भए नभएको अनुगमन गरिएको एशोसिएसनका अध्यक्ष लुना बुढाथोकीे बताउनु भयो ।

पहिलो चरणमा एशोसिएसनमा आवद्ध मन्टेश्वरीहरुको मात्र अनुगमन गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । अनुगमनको क्रममा मन्टेश्वरी विधि अनुसार सबै प्रक्रिया पूरा नगरेका मन्टेश्वरीहरुलाई एक महिना भित्र ती विधि अनुसारका सबै प्रक्रियाहरु पूरा गर्न सचेत गराइएको उहाँेले बताउनु भयो ।मन्टेश्वरी एशोसिएसनका अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको उक्त अनुगमनमा कोषाध्यक्ष खिमा थापा, सह कोषाध्यक्ष सीता पौडेल र सदस्य सन्ध्या मल्लको सहभागिता रहेको थियो । गत पुस महिना मात्र भव्यताका साथ कोहलपुरमा प्रथम वार्षिकोत्सव आयोजना गरेको बाँके जिल्लामा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसियसनका अध्यक्ष समेत रहनु भएकी प्रिन्सीपल लुना बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित व्यवहारिक तथा वस्तुगत शिक्षा विधिको अवधारणा अनुरुप शुरु परिएको मन्टेश्वरी विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको र बाँके जिल्लामा २०६६ सालदेखि मात्र शुरु भएको जानकारी दिनु भयो ।

उहाँले विद्यालय र अभिभावकहरुले विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक शिक्षा र ज्ञान मात्र होइन उनीहरुको मानसिक र वौद्धिक विकासका लागि वस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण दिन आवश्यक भएको बताउनु भयो ।उल्लेखनीय छ, विसं. २०६६ सालमा बाँके जिल्लामा मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकता महसुस गरी ७ जना विद्यार्थीबाट शुरु गरिएको बाँके जिल्लामै पहिलो मन्टेश्वरी कोहलपुरको नोवेल प्रि मन्टेश्वरी स्कुल हो । उक्त मन्टेश्वरीले ससाना बालबालिकाहरुलाई उत्प्रेरणा जगाउन र उनीहरुमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रकाशित मितिः     २९ चैत्र २०७५, शुक्रबार १५:२५  |