काठमाडौं। नेपालीको थाप्लोमा ऋण थपिकएको छ। महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ अनुसार नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण छ। त्यसअघिको वर्षको तुलनामा नेपालीको ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो। आर्थिक वर्ष ०७३/०७४ मा २४ हजार ७ सय ७ रुपैयाँ ऋण थियो।
आर्थिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको महालेखाले जनाएको छ। अघिल्लो वर्षको तुलनामा ३१.१९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड रुपैयाँले ऋण वृद्धि भएको छ। कुल ऋणमध्ये आन्तरिक ऋण ४२.७३ प्रतिशत र वैदेशिक ऋण ५७.२७ प्रतिशत रहेको छ।
‘२०६८ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७५० रुपैयाँ रहेको छ। प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा ७ हजार ४३ ले बढ्न गएको छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ।