नेपालगन्ज, २ बैशाख : बाँकेको गनापुर–१ राँझास्थित होटल ह्वाईट हाउस रेजेन्सी प्रालि तीन महिनादेखि ठप्प छ । रु १० करोड भन्दा बढि लागतमा दुई वर्ष अघि निर्माण गरिएको उक्त होटलमा ‘वाटर र फन पार्क’ थिए ।
९० कोठाको सुविधा सम्पन्न होटल बनाउने तयारी भइरहँदा ह्वाईट हाउस ठप्प बनेको हो । अहिले होटल सुनसान छ । गर्मीको सिजन शुरु भइसकेपनि त्यहाँको पौडी पोखरीमा पानी छैन । बिद्युत प्राधिकरणले बिजुलीको बिल चुक्ता नगरेको भन्दै लाईन काटेको छ । कुनै बेला २० जना भन्दा बढि कामदार दिन रात व्यस्त रहने उक्त होटलमा यतिबेला हेरचाह गर्ने सहित तीन जना कर्मचारी कार्यरत छन् । आफ्नो लागी खाना पकाउने बाहेक उनीहरुसंग कुनै काम छैन ।
होटलमा बिजुलीदेखि तरकारीसम्म बेच्नेहरु पैसा माग्न आइरहेका छन् । तर सन्चालकहरु तीन महिनादेखि होटलमा आएका छैनन् । १२ कठ जग्गामा फैलिएको उक्त होटलमा हालकै पूर्वाधारमा सेवाग्राहीहरु आउन छाडेपछि होटलमा बस्ने सुविधा सहितको पूर्वाधार थप्ने तयारी भइिरहेको थियो । तर एकाएक ती सबै काम रोकिए । न पूर्वाधार थपियो नत होटल नै सन्चालन भयो । कामदाहरु काम बिहिन भएर घर फर्किए । सन्चालनको छोटो अवधीमा उक्त होटलले निकै चर्चा पाएको थियो ।
होटलमा बिभिन्न परिकारहरु, गार्डेन, स्वीमिङ्क पुल लगायतको व्यवस्था थियो । होटलका प्रबन्धक भरत पराजुलीले होटल बन्द नभएको दाबी गरे । उनले भने,–‘कहिले काँही तल माथि भयो भन्दैमा होटल बन्द भएको मानिदैन ।’ उनले नेपालगन्ज विजनेशको टेलिफोन कुराकानीमा भने,–
होटल बन्द भएको हल्ला चलेछ । तर त्यो सत्य होइन । कहिले काही व्यवसायमा तल माथि भयो भन्दैमा सबै खत्तम भएको मान्दिन । हामी नयाँ पूर्वाधारका साथ ह्वाईट हाउसलाई केही दिनमै फेरी सन्चालन गर्छौ । स्वीमिङ्ग त केही दिनमै शुरु हुन्छ । अहिले नै पक्की संरचना तयार गर्न नसकेपनि बैकल्पिक उपाय अपनाएर ९० कोठाको होटल निर्माण गर्छौ । ढुक्क हुनुहोस् हाम्रो होटल फेरी सन्चालन हुन्छ ।
नेपालगन्ज होटल व्यवसायका लागि राम्रो सम्भावना बोको ठाउँ हो । अन्यत्रबाट यहाँ लगानीकर्ताहरु आइरहेका बेला हामी अन्त जाने कुरा नै आउँदैन । हामी थप लगानी गरेर नयाँ तरिकाबाट जान खोजिरहेका छौं ।