नेपालगन्ज, २ बैशाख : त्रिभुवनचोक प्रकरणमा नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिकरुपमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा चोक पुर्ननिर्माण गर्ने तयारीमा रहेको संघलाई रातारात शालिक राख्ने ठाउँ भत्काएको आक्षेप लगाईएको छ । स्वीकृती दिने उपमहानगरपालिकाले समेत आफ्नो बचाउ दै दोषजति संघलाई दिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्य र महासचिव अजय टण्डनले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै समग्र विकासमा हातेमालो गर्न खोज्दा बिवादित बनाउन खोजिएको बताएका
छन् ।
‘आआफ्ना ठाउँबाट नेपालगन्जबासीको हैसियतले यहाँको समग्र विकासमा हातेमालो गर्नु हाम्रो दायित्व हो । संघ पनि त्यसै हैसियतले नेपालगन्जको समग्र विकासमा हातेमालो गर्न रुचि राख्दै नेपालगन्जको मुख्य ऐतिहासिक केन्द्र सदरलाइनको त्रिभुवनचोक र सुर्खेतरोडको काँरकादोचोकमा अत्याधुनिक स्तम्भ निर्माणका लागि अग्रसर भएको व्यहोरा पनि सबैलाई जानकारी भएकै हो ।’ संघले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,–‘ उद्योग स्तम्भ सहितको घण्टाघर स्थापना गरेर नेपालगन्जको प्रवेशद्धार, कारकादोमै एउटा शुन्दर स्वागत संरचना निर्माण हाम्रो ध्येय हो । त्यस्तै नेपालगन्ज स्थापनाको इतिहास बोकेको सदरलाइनस्थित चोकको शुन्दरतामा आधुनीकिरण गरी आर्कषक संरचना तयार गर्न संघले अग्रसरता लिएको छ । ’
संघले त्यसक्रममा आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरी नेपालगन्ज उपमहानगरपालिकाको लिखित निर्णयका आधारमा त्रिभुवनचोकको पुरानो संरचना भत्काई नयाँ र अत्याधुनिक संरचना निर्माण कार्य अगाडी बढाउन खोजिएको बताएको छ । बिज्ञप्तीमा ‘तर कहिंकतै नेपालगन्ज उद्योग वाणिज्य संघ नत राजनीतिक गर्छ नत कुनै पुरातात्विक महत्वलाई न्युनिकरण वा नष्ट गर्छ । हामी स्थानीय सरकारलाई सघाउन यो सामाजिक उत्तरदायित्वको बहन गर्न खोजिएको मात्रै हो । तर के मुख्य व्यापारिक स्थल, ऐतिहासिक महत्वको मुख्य बजारको एउटा चोकलाई कहिलेसम्म यसरी कुरुप राखिरहने ? बहस जरुरी छ । अतः हामी कसैप्रति दोषारोपण चाहाँदैनौं । नेपालगन्जको सुदूर भविष्य नै हाम्रो चिन्ता हो । जसलाई यस्तै ससाना पहल र प्रयासबाट शुन्दर भविष्य आधार तयार गर्न सकिन्छ । नकारात्मक सोंचले हामीलाई अगाडी बढाउँदैन ।’ भनिएको छ ।
संघले आफुले पुर्ननिर्माण अघि सारेको चोकको सम्पूर्ण बिवरण अघि सारिसकेको बताउँदै सार्वजनिक भइसकेको उक्त डिजाईन अनुसारको निर्माणका लागि दाता तमतयार भएको उल्लेख गरेको छ ।‘ कुनै पनि बिबादमा हामी सकारात्मक कामको थालनी गर्न सक्दैनौ । त्यसले नेपालगन्ज उपमहानगरपालिकाको लिखित स्वीकृतीका आधारमा बन्न लागेको डिजाईन अनुसारको काम अगाडी बढाउन सम्बद्ध निकायले नै आवश्यक वातावारण तयार गरोस् भन्ने अपील गर्न चाहान्छौं । ’– बिज्ञप्तीमा भनिएको छ ।