यसरी बाँकेमा एकैसाथ तयार हुँदै छन् तीनवटा ‘फन पार्क’


हवलदारपुरमा निर्माणको अन्तिम चरणमा रहेको मानसरोवर होली डे इनले ‘ह्याप्पी वल्र्ड’ फन पार्क ।

नेपालगन्ज, २ बैशाख : नयाँ वर्ष २०७६ को स्वागतमा सबैजसो रमाईरहेका बेला बाँकेमा तीनवटा ठुला ‘फन पार्क’का मजदुरलाई भने काम छिटो सिध्याउन भ्याईनभ्याई छ । मजदुरहरु दिन/रात काममा जुटेका छन् । कँही स्वीमिङ्गपुल बनाइरहेका छन् भने कतै धमाधम ‘वाटर फन’का चाहिने पूर्वाधार जडानको गरिरहेका छन् ।

यि मजदुरहरुले दिन/रात नभनी निर्माण गरिरहेको फन पार्कहरु बाँके जिल्लाका लागि २०७६ मा बिशेष उपहार सावित हुँदै छन् । बाँके जिल्लामा एकै पटक तीनवटा धमाधम निर्माण भइरहेका छन् । मानसरोवर होली डे इन प्रालिले हवलदारपुर, वन्डरल्याण्ड प्रालिले राँझा र मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिर्सोट प्रालिले नेपालगन्ज उपमहानगरपालिका –१४ स्थित भवानीयापुरमा ‘फन पार्क’ निर्माण गरिरहेका छन् । २०७६ मा सन्चालन गर्ने गरी ‘फन पार्क’को पूर्वाधार निर्माणको काम यस्तो छ ? हेरौं संक्षेपमा ।

  • मानसरोवर होली डे इन प्रालि


प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केन्द्रभागमा रहेको कोहलपुरको हवलदारपुरमा यो फन पार्क निर्माण भइरहेको छ । सुर्खेतरोडसंगै जोडिएको मानसरोवर होली डे इनले ‘ह्याप्पी वल्र्ड’ नाम दिएर फन पार्क सन्चालन गर्दैछ । तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको ह्याप्पी वल्र्डको निर्माणको पनि अन्तिम चरणमा पुगेको छ । यही बैशाखबाट सन्चालन गर्ने लक्ष्य सहित काम शुरु गरिएको थियो । तर माघमा परेको पानीले योजना साकार हुन दिएन । अहिले जतिसक्यो छिटो काम सकेर ज्येष्ठबाट उद्घाटन गर्ने योजना बनाएको ह्याप्पी वल्र्डका सन्चालक मध्ये एक बिजय भण्डारीले जानकारी दिए ।


रु ३५ करोड लागतमा निर्माण भइरहेको ह्याप्पी वल्र्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । चरणबद्धरुपमा थप सुविधा समेत बिस्तार गर्ने गरी अमुजमेन्ट पार्क निर्माणको काम पनि शुरु गरिनेछ । कुल ६ बिगाहक्षेत्रफलमा ह्याप्पी वल्र्ड फैलिएको छ । पूर्णरुपमा सन्चालनमा आए ५० जना बढिले रोजगारी पाउने भण्डारीले जानकारी दिए ।

  • नेपालगन्ज थ्रिलर जोन

मानसरोवर अमुजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालिले नेपालगञ्ज उपमहानगरपालिका –१४ भवानीयापुर, बालेगाउँमा निर्माण गरिने ‘नेपालगन्ज थ्रिलर जोन’मा रिसोर्ट, वाटरपार्क, फनपार्क, इन्डोर गेम्स, सभा हल, रेष्टुरेन्ट, पिंङलगायत मनोरञ्जनस्थल निर्माणको काम यतिबेला धामधम गरिरहेको छ ।

पहिलो चरणमा ४७ करोड रुपैयाँको लागतमा निर्माण कार्य हुनेछ । आन्तरिक र वाह्य पर्यटकको माग र चाहाना अनुरुप आगामी दुई वर्ष्भित्र यसको लागत २ अर्बको पु¥याइने लक्ष्य छ । निर्माणको काम धमाधम गरिरहेको नेपालगन्ज थ्रिलर जोनले केही दिन अघि मात्र डेढ सय कर्मचारी माग गरेको छ ।

  • वन्डर ल्याण्ड प्रालि

रांझाचोकमा सुर्खेतरोडसंगै जोडिएको क्षेत्रमा वन्डरल्याण्ड पार्क निर्माण भइरहेको छ । भौतिक पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको छ । सिमेन्ट र छडबाट बनेका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाले पूर्वाधार निर्माणको काम ढिलो सकिएको सन्चालक सिवाँशु यादवले जानकारी दिए ।

सम्पूर्ण सामाग्रीहरु आइसकेकाले त्यसलाई जडान गर्न मात्र बाँकी रहेको छ । जेठसम्म सम्पूर्ण निर्माणको काम सक्ने लक्ष्य लिएको यादवले बताए । रु ५० करोड लागतमा वन्डरल्याण्ड फन पार्क बन्दैछ ।

प्रकाशित मितिः     २ बैशाख २०७६, सोमबार १७:४८  |