नेपालगन्ज : माझी प्रोडक्सन प्रालिले प्लाष्टिक झोलाको विकल्पमा कागजको झोला उत्पादन सुरु गरेको छ । नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले मंगलबार नेपालगन्ज १२ मा रहेको माझी प्रोडक्सनको कागजको झोला उत्पादन गर्ने कारखानाको उद्घाटन गर्नु भयो । ५० लाख रुपैयाँको लागतमा स्थापना गरिएको उद्योगले सुरुमा विभिन्न तौलका सामान बोक्न मिल्ने झोला उत्पादन गरेको छ । चाँडै दुना, टपरी, ग्लास, कप उत्पादन गर्ने सञ्चालक कुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालगन्ज सहरलाई प्लाष्टिक मुक्त घोषणा गर्ने तयारी भइरहेको बेला कागजका झोला उत्पादन सुरु भएकोमा नगरप्रमुख राणाले खुसी व्यक्त गर्नु भयो । उहाँले प्लाष्टिक झोलाको विकल्पमा कागज र कपडाको झोलाको विकल्प दिएर चाँडै नेपालगन्जलाई प्लाष्टिक मुक्त घोषणा गर्ने बताउनु भयो ।
कार्यक्रममा डा.कर्ण, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले प्लाष्टिकको विकल्पमा कागजका सामानको प्रयोगबाट सहरमा प्रदुषण न्यूनिकरणमा मद्दत मिल्ने बताउनु भएको थियो ।