घट्यो विदेशी लगानी


काठमाण्डौं : आर्थिक वर्षको शुरुदेखि नै नेपाल आउने विदेशी लगानी सुस्त रहेको छ। उद्योग विभागको वैदेशिक लगानीका उद्योग दर्तामा कमीमात्र होइन वास्तविक लगानी प्रवाहमा पनि कमी आएको छ। शुरुदेखि नै सुस्त रहेको लगानी वर्षको उत्तरार्धतिर आउँदा पनि खासै बढ्न सकेको छैन। अघिल्लो वर्षको तुलनामा यो साउनदेखि फागुनसम्म आधा लगानी घटेको छ।

चालु वर्षको आठ महिनामा ६ अर्बं ६६ करोड नेपाली रुपैयाँ बराबरको विदेशी लगानी आएको छ। अघिल्लो वर्षको तुलनामा यो ५२ प्रतिशत कम हो। अघिल्लो वर्ष यही अवधिमा १४ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो लगानी ५८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ७७ प्रतिशतले बढेको थियो। नेपालमा वैदेशिक लगानी कहिलेकाही ठूलो परियोजनामा आउँदा धेरै देखिने प्रवृत्ति रहेको छ।

नयाँ सरकार गठन हुँदा सबै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहने र समय परिपक्क भएपछिमात्र लगानी गर्ने स्वभावका कारण यस्तो भएको हुनसक्ने बताउँदै आएपनि परिणाममा देखिन सकेको छैन। अघिल्लो महिनामात्र लगानी सम्मेलन आयोजना गरेको सरकारले व्यवासायिक वातावरणका लागि कानूनी तथा नीतिगत पूर्वाधार बनाएको छ। अबका दिन वैदेशिक लगानी प्रवाह बढ्ने सरकारी अधिकारीहरु विश्वस्त छन्।

सेवा सुविधा र छुटको अफर सरकारले दिएकाले लगानी आकर्षित हुनेमा अर्थमन्त्रीदेखि उच्पदस्थहरु विश्वस्त देखिन्छन्। तर नियम कानून भन्दा एउटा व्यक्तीको निर्देशनमा व्यापारीमाथि धरपकड हुन थालेपछि पछिल्लो समय झनै व्यवसायिक वातावरण विग्रंदै गएको व्यापारीहरुको आरोप छ। ‘नेपालकै व्यापारीहरुले लगानी गर्न डराइरहेका छन् विदेशबाट आएर यहाँ जेल पर्न आउने होइन नाफा कमाउन पो आउने हो’ एक व्यापारीले सेतोपाटीसँग भने,‘संसारमा लगानी गर्ने नेपालमात्र देश पनि छैन हाम्रा नीति र नियम लगानी अनुकुल नबनेसम्म आउँदैनन्।’

उच्च बृद्धिको लक्ष्य राखेको सरकारले निजी र वैदेशिक लगानीको ठुलो अपेक्षा राखेको छ। अर्थमन्त्री खतिवडाले पत्रकार सम्मेलन नै गरेर सरकार निजी र वैदेशिक लागनीको लागि जस्तोसुकै नीतिगत सुधार गर्न तयार रहेको उद्घोष पनि गरेका थिए। नेपलामा कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सर्भे अनुसार २५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ। ३७ कम्पनीमात्र उत्पादनमुलक छन् भने बाँकी सबै सेवा, व्यापारमा छन्। त्यसमा ११ फार्मले निर्यात गर्छन्।


निर्यात गर्ने कम्पनीमा ३ वटा उपभोग्य वस्तुको उत्पादन र ८ वटाले औद्योगिक वस्तु उत्पादन गर्ने गरेका छन्। त्यस्तो लगानीको रिजर्भ रकम नेपालमै लगानी हुन्छ वा फेरि विदेश जान्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन।

प्रत्यक्ष वैदेशिक लगानीः संसारभर दशककै न्यून
यद्यपी पछिल्लो समय प्रत्यक्ष लगानी संसारभर कमी आएको छ। गएको वर्ष यस्तो लगानी गएको दशककै न्यून प्रवाह भएको छ। सन् २०१८ मा २००७ पछिको सबैभन्दा न्यून लगानी प्रवाह भएको सयुक्त राष्ट्र संघीय कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट(अनट्याड)को अध्ययनले देखाएको छ। अनट्याड ग्लोबल इन्भेष्टमेन्ट ट्रेन्ड मनिटरका अनुसार २०१८ मा १ हजार २ सय अर्ब अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानीको रुपमा प्रवाह भएको छ। जुन सन् २०१७ को तुलनामा १९ प्रतिशतले न्यून हो।

संसारभर सन् २०१८ मा भएको प्रत्यक्ष वैदेशिक लगानी आर्थिक मन्दी पछिको पछिको सबैभन्दा न्यून हो। सन् २००७ मा १ हजार ७ सय ३० अर्ब अमेरिकी डलर लगानी प्रवाह भएको थियो। विश्वमा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले घटेको प्रत्यक्ष वैदेशिक लगानी विकसित अर्थतन्त्रमा धेरै घटेको छ। अनट्याडका अनुसार विकसित मुलुकमा ४० प्रतिशतले घटेको छ। विकसित मुलुकमा २०१८ मा ४५१ अर्ब डलर लगानी प्रवाह भएको छ। अनट्याडका अनुसार यो सन् २००४ पछिकै न्यून हो।

यही अविधमा युरोपमा ७३ प्रतिशतले लगानी कम भएको छ। यो क्षेत्रमा १०० अर्बमात्र लगानी भएको छ जुन सन् १९९० पछिकै न्यून हो। विकासोन्मुख मुलुकहरुमा भने यस्तो लगानी केही बढेको छ। अनट्याडको प्रतिवेदनअनुसार सन् २०१८ मा यस्तो क्षेत्रमा ६९४ अर्ब डलर लगानी भएको छ जुन २०१७ को तुलनामा ६ प्रतिशतले बढी हो। त्यस्तै विकासोन्मुख एसियान मुलुकमा पनि ५ प्रतितले लगानी बढेको छ भने अफ्रिकामा ६ प्रतिशतले बढेको छ। #सेतोपाटी डटकम#

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार १२:४७  |
error: Content is protected !!