दशकपछि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको कानुन संकायमा नियमित कक्षा


नेपालगन्ज, १० बैशाख : महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा दशकपछि कानुन संकायको कक्षा नियमित हुन थालेको छ । यो क्याम्पस कुनै बेला कानुन पढ्नेहरुका लागि प्रमुख शैक्षिक केन्द्र बनेको थियो । बिद्यार्थीहरु खचाखच भरिएको र नियमित कक्षा सन्चालन हुने गरेको भएपनि एकदशक भन्दा बढि समयदेखि कक्षा ठप्प जस्तो भयो ।
संयौ विद्यार्थी भर्ना हुने र पढ्न नआउने । बिद्यार्थी नै नआउने भएपछि प्राध्यापकहरुलाई पनि हाइसन्चो । तर यसपटक बिद्यार्थी जागेपछि प्राध्यापकहरु पनि पढाउन उत्साहित छन् । एलएलबी प्रथम वर्षको पढाई नियमित छ । महेन्द्र बहुमुखी क्याम्पसमा कानुन संकायले पुर्नजिवन पाएको क्याम्पस प्रमुख गणेश रेग्मीले बताए ।
कानुन संकायलाई पुर्नजिवन बनाउने मुख्य पात्र बनेका छन् दाङ्ग निवासी ७१ वर्षिय भद्र ओली । उमेरले पाका भएपनि उनलाई कानुन पढेर वकिल भन्ने रहर जागिरह्यो । नेपालगन्जमा उनी पढ्न भनेर आए तर कक्षा नियमित भएको देखेनन् । ‘त्यहीबाट भर्ना भएका सबै बिद्याथीलाई मैले फोन गरेर भेला गराए ।’ ओली भन्छन्–‘सबै जना साथीहरुले साथ दिनुभयो । अहिले कक्षा नियमित सन्चालन भएको छ ।’
बिद्यार्थीहरु नियमित कक्षामा आएपछि कानुन पढाउने करार उपप्राध्यापकहरु थप गरिएको छ । नेपालगन्जका चर्चित कानुन व्यवसायी लोक बहादुर शाह लगायतले पढाउने भएका छन् । कानुन पढ्न रुची राख्नेहरुका लागि अब राम्रो भएको शाहले बताए । कानुन पढ्न शुरु गरेका बिद्यार्थी कमल शाहीले नियमित कक्षा सन्चालनले उत्साह थपेको जानकारी दिए ।

प्रकाशित मितिः     १० बैशाख २०७६, मंगलवार ११:३२  |