नेपालगन्ज, १२ बैशाख : फुल फल लाग्ने बेला बेमौसमी पानी परेपछि बाँकेमा आँपको उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यसपटक आँप उत्पादनको लक्षण राम्रो छैन् ।
‘फुल त राम्रोसंग फुलेको थियो । फल लाग्ने बेला पानी र हावाहुरी परेपछि उत्पादन घट्ने निश्चित देखिन्छ ।’ ढकालले भने,–‘अझै पनि पानी र हावा, हुरी आए अहिले अनुमान गरे भन्दा कम उत्पादन हुन सक्ने देखिन्छ ।’ फुल राम्रो देखेर उत्साहित भएका आँप उत्पादक कृषक निरास भएका छन् ।
बाँकेलाई आँप उत्पादनको लागि उर्वर भूमि मानिन्छ । तर उत्पादन भने बढाउन सकिएको देखिन्न् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिबेदन अनुसार, बाँकेमा आर्थिक वर्ष २०७२/२०७३ मा ५ हजार ८ सय ८० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर त्यसयता आँपको उत्पादन बढ्न सकेको छैन । आर्थिक वर्ष २०७३/२०७४ मा घटेर एक हजार ९ सय ६० मेट्रिक टन आँप उत्पादन भएको थियो । गत आर्थिक वर्ष २०७४/२०७५ मा भने ३ हजार ३ सय ७५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यसपटक उत्पादन घट्ने देखिन्छ ।