नेपालगन्ज, १५ बैशाख : नेपाल सुन चाँदी तथा गहना व्यवसायी महासंघले देशभर कोटा प्रणालीको सट सदस्य संख्याका आधारमा सुन बितरण गर्ने भएको छ । महासंघ मार्फत अहिले देशभर साढे ११ किलोग्राम सुन व्यवसायीहरुले बिक्री गर्दै आएका छन् ।
काठमाण्डौंमा बागमति अन्चललाई ६० प्रतिशत र बाँकी १३ अन्चललाई ४० प्रतिशत सुन बितरण गरिन्छ । यसो गर्दा काठमाण्डौंमा धेरै सुन जान्छ भने अन्य जिल्लाका व्यवसायीले सुन प्राप्त गर्छन । तर अब सदस्य संख्याको आधारमा सुन बितरण गर्ने गरी प्रक्रिया अघि बढाईएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । आईतबार कोहलपुरमा सम्पन्न भएको सुन चाँदी तथा गहना व्यवसायी महासंघ बाँकेको पाँचौ साधारणसभामा बोल्दै अध्यक्ष सुनारले भने,–‘काठमाण्डौ केन्द्रीत सुन बितरण प्रणाली मोफसलसम्म लैजाने गरी काम थालेका छौं ।’
महासंघमा देशभर २२ हजार व्यवसायी आवद्ध छन् भने २ लाख त कालीगढ नै रहेका छन् । महासंघ आवद्ध व्यवसायीले वार्षिकरुपमा ५० अर्बको कारोवार गर्छन । त्यस्तै १३ अर्व राजश्व बुझाउने गरेको महासंघ अध्यक्ष सुनारले बताए । सुन बितरण प्रणाली व्यवस्थित गर्ने हो भने अहिले बैधानिकरुपमा प्राप्त २० किलो सुन नै नेपालमा पर्याप्त हुने अध्यक्ष सुनारले बताए । उनले सुन व्यवसायीलाई राज्यका निकायबाट अनावश्यकरुपमा धरपकड गर्ने काम भइरहेको भन्दै त्यसको बिरोध गरे । बैधानिकरुपमा कर तिरेर सन्चालनमा रहेका सुन व्यवसायीलाई चोरको जस्तो व्यवहार गर्नु निन्दनीय भएको सुनारको भनाई छ । कार्यक्रममा बोल्दै प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले सुन व्यवसायका माध्यमबाट पनि देशमा रोजगारी सिर्जना गर्न सकिने बताईन ।
कार्यक्रममा बोल्ने अधिकांस सुन व्यवसायका अगुवाहरुले प्रहरी, प्रशासनबाट आफुहरुलाई हेर्ने सोंच नफेरिएको भन्दै चिन्ता प्रकट गरे । साथै पर्याप्त मात्रामा सुन नपाउँदा अबैधरुपमा आएको सुन बेच्नुपर्ने बाध्यता रहेको पनि सुनाए । कार्यक्रममा महासंघका उपाध्यक्ष अर्जुन रसाईली, प्रदेश संयोजक प्रेम सुनार, सचिव सुदिप श्रेष्ठ, महासंघ केन्द्रीय सदस्य दुर्गा गहतराज, कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष चक्र अधिकारी लगायतले बोलेका थिए । बुद्धि दियालीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।