छर्ने होइन नतिजा दिने बजेट विनियोजन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


रोल्पा बैशाख १६ । मुख्यमन्त्री शंकर पोखरेलले सन्तुलित विकासमा बजेट खर्च गर्ने गरी प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेशले पालिका, जिल्ला र निर्वाचन क्षेत्रस्तरमा बजेट विनियोजन गरेर सन्तुलित विकासको मोडल अघि बढाएको बताउनुभयो ।
रोल्पा सदरमुकाम लिवाङमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिसंगको अन्तरक्रियामा बोल्दै उहाँले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक पालिकामा खेल मैदान र बहुउद्देश्यीय भवन बन्ने गरी बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट राम्रो नतिजा दिने ढंगको आउने स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशको आवधिक योजना तयार भएको र आगामी वर्षको बजेट यही आवधिक योजनाले तय गरेको प्राथमिकताका आधारमा आउने बताउनुभयो । स्थानीय तहलाई पनि आवधिक योजना बनाएर अघि बढ्न र बजेट छर्ने भन्दा नतिजा दिने हिसाबले विनियोजन गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । ‘समपुरक अनुदान अन्तर्गत बजेट विनियोजन गरे अघि बढ्नुस, त्यसो गर्दा तपाईहरुले जति पैसा त्यसमा राख्नुहुन्छ, त्यत्ति नै प्रदेश सरकारले दिन्छ—उहाँले भन्नुभयो—चालु आर्थिक वर्षको बजेट बनाउँदा कतिपय पालिकाले यतातिर ध्यान नदिदा समपुरक अन्तर्गत पाउनुपर्ने बजेट पाउन सकेनन् ।
उहाँले प्रदेशको गौरवको आयोजना पाल्पा—रोल्पा सडकले रोल्पाको पहुँचलाई अझ बढाउने बताउनुभयो ।‘यो सडक कालीगण्डकी करिडोरबाट शुरु भएर राप्ती राजमार्गमा अन्त्य हुन्छ । रोल्पाको धेरै गाउँ भएर अघि बढ्छ, यो सडकबाट रोल्पाले धेरै फाइदा पाउँछ—उहाँले भन्नुभयो । उहाँले रोल्पाको चुनवाङबाट पूर्वी रुकुमको सदरमुकाम जोड्ने सडक प्राथमिकतामा परेको र शहिद मार्ग स्तरोन्नतीलाई पनि प्राथमिकतामा पारिने बताउनुभयो ।

उहाँले अहिले स्थानीय तहले कर्मचारी अभाव झेलिरहेको जानकार रहेको भन्दै प्रदेश लोकसेवा विधेयक छिट्टै पारित हुने र प्रदेश लोकसेवा आयोग गठनपछि कर्मचारी पूर्तिको बाटो खुल्ने बताउनुभयो । उहाँले रिक्त शिक्षक केन्द्र सरकारले करारमा नियुक्त गर्ने काम गलत भएको र रिक्त शिक्षक नियुक्तिको काम पालिकालाई दिनुपर्ने बताउनुभयो ‘तपाईहरुको यो मागसंग प्रदेश सरकार साथमा छ—उहाँले भन्नुभयो । शिक्षक सेवा आयोगले प्रक्रियागत रुपमा काम अघि बढाएर नियुक्ति गर्ने हो भने ठिकै भएपनि सिधै केन्द्र सरकारले करारमा नियुक्ति गर्ने काम बेठिक भएको उहाँको भनाई छ ।

चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुन लागेकोले यो मुलुकका लागि सुखद पक्ष भएको उहाँको भनाई छ । उहाँले आर्थिक सुचकाङ्कमा औषत रहेको प्रदेश पाँच चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सबैभन्दा उच्च भएको हाम्रो प्रदेशका लागि खुशीको कुरा भएको बताउनुभयो ।

बम प्रहारको घटना झुठो
रोल्पामा मुख्यमन्त्री शंकर पोखरेलमाथि लक्षित गर्दै बम प्रहार भएको भन्ने केही अनलाइनहरुले दिएको समाचारप्रति मुख्यमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ । स्थानीय तहका जनप्रतिनिधिसंगको अन्तरक्रिया र पार्टी कार्यकर्ता प्रशिक्षणका लागि मुख्यमन्त्री आज रोल्पा सदरमुकाम लिवाङ पुगेका बेला बम बिस्फोट भएको भन्दै केही अनलाईन संचारमाध्यममा समाचार प्रशारण भएको थियो ।
उक्त बिषयमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले मुख्यमन्त्रीलाई लक्षित गरी कुनै विष्फोट नभएको स्पष्ट पारेका छन् । ‘भ्रामक समाचार सम्प्रेषण नगर्न म सञ्चारमाध्यमहरुलाई आग्रह गर्दछु । साथै भ्रामक समाचारको विश्वास नगर्नु हुन सबैमा अनुरोध छ ।’ उनले भने,–‘ निकै शान्त र उत्साहपूर्ण वातावरणमा केही बेर अघि स्थानीय तहका जनप्रतिनिधिसंगको अन्तरक्रिया सम्पन्न भयो । रोल्पाका स्थानीय तहका जनप्रतिनिधिले हालसम्म भए गरेका काम, समस्या र भावी योजनाका बारेमा निकै मिहिन ढंगले धारणा राख्नुभयो ।’

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार २०:५१  |