सुविधा सम्पन्न नेपालगन्ज बसपार्क सन्चालनको तयारी


नेपालगन्ज १९ बैशाख : नेपालगन्जमा निर्माण भएको अत्याधुनिक बसपार्क चाँडै सन्चालनमा आउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बसपार्क सन्चालनको तयारी भइरहेको बताउँदै त्यहाँबाट छुट्ने बसको सूची तयार गर्न लागेको छ । उपमहानगरपालिकाले बस समिति र बस सन्चालन गर्ने कम्पनीहरुलाई सूचि बुझाउन आग्रह गरेको हो । बसको सूची संकलन गरे पछि व्यवस्थापनमा सहज हुनेछ ।

अन्तर्रा्ष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्कको काम पछाडि धकेलिएको हो । उपमहानगरले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।

करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको हो ।समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न संघीय र प्रेदश सरकारले निर्देशन दिएका छन् । अन्तर्रा्ष्ट्रियस्तरको बसपार्क निर्माणको ठेक्का युनाइटेड बिल्डर्सले पाएको छ । साढे चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य छ ।

प्रकाशित मितिः     १८ बैशाख २०७६, बुधबार ०७:२९  |