मर्मतका लागि धनगढी बिमानस्थल बन्द हुने, नेपालगन्जमा एयरलाइन्स कम्पनीले उडान थप्दै


नेपालगन्ज, १९ बैशाख : निर्माण कार्यका लागि वैशाख २२ गतेदेखि धनगढी विमानस्थलमा जहाज उडान ठप्प हुने नेपालगन्ज बिमानस्थलको ब्यस्तता बढ्ने भएको छ । एयरलाइन्स कम्पनीहरुले सूदुरपश्चिम प्रदेशलाई समेत लक्षित गरी नेपालगन्जमा उडान (फ्लाइट फ्रिक्वेन्सी) बढाउँदै छन् ।

धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द हुँदैछ । उक्त बिमानस्थल बन्द हुने भएपछि हाल नेपालगन्जमा दैनिक तीन उडान गर्दै आएको बुद्ध एयरले दुईवटा उडान थप्ने योजना बनाएको छ ।  धनगढी उडान नरहेको यति एयरलाइन्सले यात्रुको माग अनुसार नेपालगञ्जमा फ्लाइट फ्रिक्वेन्सी बढाउने योजना रहेको जनाएको छ । यात्रुको चाप र माग अनुसार नेपालगञ्जमा फ्लाइट फ्रिक्वेन्सी बढाउने योजना बनाएको कम्पनीका वरिष्ठ प्रवन्धक भीमराज राईले भने।
श्री एयरलाइन्सले यात्रुको माग अनुसार फ्लाइट फ्रिक्वेन्सी बढाउने योजना रहेको जनाएको छ । विमानस्थलको धावनमार्ग, एप्रोन, ट्याक्सी वे लगायत विस्तार गर्नका लागि १७ करोड ८८ लाख ८६ हजार ३२ रुपैयाँ ३३ पैसामा लुम्विनी कोशी एण्ड न्यौपाने खड्का कृष्ण दुर्गा वसुन्धारा कम्पनीलाई ठेक्का दिइएको विमानस्थलको आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्राधिकरण र ठेकेदार कम्पनीबीच गत फागुन ३० गते सम्झौता भएको थियो।


सुरुवाती चरणमा धावनमार्गको मध्य भागमा रहेको पीच उप्काएर बेस र सबबेस गरी ५१ सेन्टिमिटरको पीच थपिने श्रेष्ठले जानकारी दिए। दुई महिनाभित्रै धावनमार्गको मध्य भाग मर्मत सम्भार गर्नैपर्ने भएको कारण विमानस्थल एक महिनाको लागि बन्द गर्न लागिएको उनले बताए। ’हामीले अध्ययन गर्दा विमानस्थलको धावनमार्ग दुई महिनाभित्रै मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। धावनमार्गलाई व्यवस्थित बनाउनकै लागि हामीले २४ घण्टा मर्मत सम्भार गरेर संचालनमा ल्याउने योजना बनाएका छौँ।’ उनले भने।

प्रकाशित मितिः     १८ बैशाख २०७६, बुधबार १७:०६  |
error: Content is protected !!