जानकीमा सूचना प्रविधि दिवस मनाइयो


जानकी, १९ वैशाख–बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको छ ।  बिहीवार गाउँपालिकाको सूचना प्रविधि शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले गरेको काम पारदर्शी बनाउन सूचना प्रविधिले ठूलो सहयोग पु¥याएको बताउनुभयो ।

उहाँले गाउँपालिका अन्तर्गतका प्रत्येक शाखा र वडा कार्यालयले सूचना प्रविधिको भरपुर उपयोग गर्दै जनतालाई सरल र सहज तथा पारदर्शी रुपमा सेवा प्रवाह गर्न आग्रह समेत गर्नुभयो । जानकी गाउँपालिकालाई आधुनिक प्रविधियुक्त बनाउन गाउँपालिका कार्यालयमा सीसीटीभी जडान गरिएको छ । गाउँपालिकाका छ वटै वडामा इन्टरनेट र सीसीटीभी जडान गरेपछि कर्मचारीको काममा प्रभावकारिता देखिन थालेको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताउनुभयो ।

जानकी गाउँपालिकामा लेखा, प्रशासन, सूचना–प्रविधि शाखा, सबै विषयगत शाखा र गाउँपालिका कार्यालय परिसरको वरिपरिसमेत निगरानी गर्ने गरी सीसी क्यामेरा जडान गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले गाउँपालिकालाई सूचनामैत्री गाउँपालिका बनाउन गाउँपालिकाको आफ्नै मोवाईल एप्स, अनलाइर्न, सामाजिक सञ्जालमार्फत प्रयत्नशिल रहेको बताउनुभयो ।  सञ्चार तथा सूचना प्रविधिको प्रयोग विना गाउँपालिकाको समग्र विकासमा अगाडि बढ्न कठिन हुनेभएकोले सूचना प्रविधिको प्रयोगका विषयमा वडास्तरमा समेत सचेतना कार्यक्रम तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।
सूचना प्रविधि शाखाका संयोजक बिकास जिसीले जानकी गाउँपालिकामा शिक्षा र चेतनाको विकाससँगै सूचना प्रविधिको प्रयोगको वारेमा पनि सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो ।
धेरै ग्रामिण वस्ती भएकोले इन्टरनेटको पहुँच कम रहेको छ । गाउँपालिकाका छ वटै वडामा इन्टरनेट जडान भईसकेकोले विस्तारै गाउँ–गाउँसम्म यसलाई विस्तार गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १८:२०  |