बिन्दु कुँवरले क्यान्सर बिरुद्ध गरेको संघर्ष सुनाउँदा हलमा सन्नाटा छायो


नेपालगन्ज २२ बैशाख : क्यान्सर रोगबाट पीडित महिला विकास निरिक्षक बिन्दु कुवँरलाई उपचार सहयोगार्थ ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरिएको छ । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले संकलन गरेको सो रकमको चेक आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कुवँरलाई हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाह, बरिष्ठ पत्रकार पूर्णलाल चुके, पत्रकार झलक गैरे, शुक्रऋषि चौलागाईं, प्राध्यापक डाक्टर जनाद्र्धन आचार्य, धम्बोझि माबिकी पूर्व प्राचार्य किरण आचार्य, नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगाएतले संयुक्त रुपमा कुवँरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले आफनो १ महिनाको तलब भत्ता बराबरको ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए । बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सहयोगको उद्धेश्यका बारेमा बोलेका थिए । उनले महिला अधिकारका क्षेत्रमा अनवरत क्रियाशिल कुवँरको सहयोगार्थ सञ्चालन गरेको अभियान मार्फत सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्य सचिव साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहने बिन्दु कुवँरलाई बचाउन आग्रह समेत गरे ।  कार्यक्रममा सहयोग ग्रहण गरिसके पश्चात बोल्दै महिला बिकास निरिक्षक कुवँरले कसैलाई पनि क्यान्सर रोग जस्तो रोग नलागोस् भन्ने कामना गरिन् । कुवँरले उपचार गर्दा, गर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनु परेको बताईन् । स्वस्थ रहुञ्जेल समाजका लागि गरें—कुवँरले भनिन्—अस्वस्थ रहँदा पनि समाजकै लागि चिन्तित छुँ ।

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकि कुवँर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । उनले कार्यक्रममा रोगका बिरुद्ध गरेको संघर्ष सुनाउँदा हल भावबिह्रल भएको थियो । उनले असह्य पीडा सहन नसकेर पनि उपचार गराईरहेको बताईन् ।

कुवँर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराईरहेकि छिन् ।  कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले कर्मठ राष्ट्रसेकबलाई अफ्ठ्यारो पर्दा नेपालगञ्जबाट भएको स्वस्फुर्त सहयोग प्रशंसायोग्य भएको उल्लेख गर्दै सोही सहयोगमा थपेर आफुले एक महिनाको तलब सहयोग गरेको बताए ।  कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २२ बैशाख २०७६, आईतवार १९:२९  |