हप्ताको बीचमा बिदा दिँदा के होला ?


हप्ताका ६ दिन काम गरेर शनिवार बिदामा बस्ने नेपालीहरू धेरै छन् । सातै दिन काम हुने अफिसमा कसैलाई शनिवार, कसैलाई आइतवार, कसैलाई सोमवार गरेर विदा दिने चलन पनि छ । अन्तरराष्ट्रिय गैरसरकारी संस्थालगायत केही संस्थाले शनिवार र आइतवार गरेर हप्तामा २ दिन पनि बिदा दिँदै आएका छन् । तपाईंले अहिले काम गरिरहनुभएको कम्पनीले हरेक हप्ताको बीचमा पनि बिदा दिन थाल्यो भने कस्तो होला ?

अस्ट्रेलियाको एउटा कम्पनीले अहिले बुधवार काम गर्न प्रतिबन्ध अहिले लगाएको छ । डिजिटल मार्केटिङ कम्पनी भर्साले हरेक हप्ता शनिवार र आइतवारबाहेक बुधवार पनि कर्मचारीहरूलाई बिदा दिइरहेको छ । अन्य कम्पनीमा झैं सो कम्पनीमा पनि कर्मचारीहरूले सोमवारदेखि निर्धारित कार्यसमयमा काम गर्छन् । मंगलवार काम गरेपछि बुधवार बिदा हुन्छ । बिहीवार र शुक्रवार २ दिन काम गरेपछि शनिवार र आइतवार फेरि छुट्टी । बुधवार कुनै बैठक पनि राखिँदैन । क्लाइन्टको अत्यावश्यक काम गर्नु छ भने मात्रै, नत्र कर्मचारीहरूले अफिसको फोन पनि उठाउँदैनन् । कम्पनीमा करीब १ वर्षदेखि यो अभ्यास चलिरहेको छ ।

पछिल्लो समय विश्वभरि नै लचिलो कार्यसमयको माग निकै बढेको छ । परम्परागत ९–५ को जागिरभन्दा आफ्नो अनुकूल कार्यसमय भएको स्थानमा काम गर्न रुचाउनेको संख्या धेरै छ । यस्तोमा अमेरिका, अस्ट्रेलिया लगायत अन्य देशमा विभिन्न अभ्यास शुरू भएको छ । भर्सामा बुधवार बिदा दिने नीति गतवर्ष जुलाईमा लागू भएको थियो । त्यसयता कम्पनीको आम्दानी ४६ प्रतिशत बढेको छ भने मुनाफा पनि करीब तेब्बर भएको भर्साकी सीईओ तथा संस्थापक क्याथ ब्ल्याकह्याम बताउँछिन् । बुधवार छुट्टी दिने नीति ब्ल्याकहामले नै अघि सारेकी थिइन् ।

यसका लागि कम्पनीको नेतृत्व टोलीलाई मनाउन उनले निकै परिश्रम पनि गर्नुपरेको थियो । नीतिले काम नगरेमा पुनः सातामा ५ दिन काम गर्ने व्यवस्था लागू गरिने वाचा गरेकी थिइन् । तर, त्यस्तो गर्नुपरेन । कम्पनीमा हरेक २ हप्तामा यो नीतिको प्रभावकारिता, उपलब्धि र समस्याबारे छलफल हुन्छ । यो योजनाले कम्पनीका लागि निकै राम्रो काम गरिरहेको भर्सामा प्रोजेक्ट व्यवस्थापकका रूपमा काम गर्दै आएकी टिफेनी स्क्राउवेन बताउँछिन् ।

हप्ताको बीचमा बिदा दिँदा कर्मचारीहरूले घरको महत्त्वपूर्ण काम गर्ने समय मात्रै होइन, बालबालिकाको स्याहारसुसार गर्ने, उनीहरूसँग ‘क्वालिटी टाइम’ बिताउने लगायत अन्य काम गर्ने पर्याप्त समय पाउँछन् । यसले कर्मचारीहरूलाई ‘फ्रेस’ र सृजनशील भएर कार्यालय आउने जाँगर दिने ब्ल्याकह्याम बताउँछिन् । यसबाट कम्पनीको विस्तारमा सहयोग पुगिरहेको छ, कर्मचारीको बिरामी बिदा घटेको छ, उनीहरूमा कामप्रतिको सन्तुष्टि पनि बढेको छ । त्यस्तै, साताको अन्य दिनमा पनि कर्मचारीहरूमा शुरू अर्थात् सोमवारको जस्तै जोश र जाँगर देखिने उनले बताइन् ।

बुधवार नै किन ?
बिहान कार्यालय आउनेबित्तिकै अनि हप्ताको शुरूमा कर्मचारीको उत्पादकत्व धेरै हुन्छ भनेर यसअघिका अध्ययनहरूले देखाएका छन् । हप्ताका ५ वा ४ दिन लगातार काम गरेर अन्त्यमा ३ दिन बिदा दिनुभन्दा पूरा हप्तालाई दुई सानो भागमा टुक्र्याउँदा उत्पादकत्व बढ्ने आकलन गरेर नै ब्ल्याकह्यामले यस्तो निर्णय गरेकी थिइन् । कर्मचारीहरूलाई आफूखुशी दिन छानेर बिदा बस्न दिँदा कार्यालयमा कुन दिन को उपस्थित हुन्छ र कसलाई कुन काम गर्न दिने भन्नेबारे अनिश्चय हुने अनि यसले उत्पादकत्वमै असर गर्ने देखियो ।

भर्साका लागि बुधवार बिदा दिने नीति धेरै सफल भएको देखेर न्यूजिल्यान्डको अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा प्राध्यापक जारोड हार खासै अचम्मित छैनन् । बुधवार बिदामा बसेर बिहीवार कार्यालय आउँदा कर्मचारीहरूले ताजा महसूस गर्ने र उनीहरूको उत्पादकत्व उच्च रहने हारको अनुसन्धानले पनि देखाएको छ । हारले गतवर्ष हप्तामा ४ दिनमात्र कार्यसमय भएको न्यूजिल्यान्डको सम्पत्ति व्यवस्थापन कम्पनी पर्पेच्युअल गार्डियनको कार्यनीतिको विश्लेषण गरेका थिए । यस कार्यसमयले कर्मचारीको बिरामी बिदा घटाउनुका साथै उनीहरूको सुस्वास्थ्य बढाएको पाइएको थियो । तर, यसका कारण लचिलो कार्यसमयसँग भिज्न नसक्ने केही कर्मचारी भने कम्पनीले गुमाउनुपरेको थियो ।

कर्मचारीहरू कार्यालयमा दिनको आठै घण्टा बसे पनि उनीहरूले वास्तवमा काम गर्ने भनेको साढे २ घण्टादेखि ४ घण्टा मात्रै हो । त्यसैले उनीहरूलाई लामो समय कार्यालयमा अल्झाएर राख्नुभन्दा थोरै समय काम गर्ने व्यवस्था मिलाएर त्यसैबाट उत्पादकत्व बढाउनु बेश हुन्छ भन्छन् पर्पेच्युअल गार्डियनका सीईओ तथा मालिक एन्ड्रिउ बार्नेस । पछिल्लो समय बेलायत र आयरल्यान्डले पनि हप्तामा ४ दिन मात्रै काम गर्ने नीति अपनाउने इच्छा देखाएका छन् । स्वीडेन लगायत अन्य केही देशमा पनि यसको प्रयोग भइसकेको छ । अमेरिकामा पनि केही कम्पनीले सातामा ४ दिन कामको योजना अपनाइरहेका छन् ।

तर, यो नीति सबैतिर उत्तिकै सफल र उपयोगी हुन्छ भन्ने चाहिँ होइन । स्वीडेनको एक नर्सिङ होममा काम गर्ने समय घटाएर दैनिक ६ घण्टामा झारिएको थियो । यो नीतिसँगै कर्मचारीको बिरामी बिदा घटेको थियो भने उत्पादकत्वमा पनि सुधार आएको थियो । तर, बिदाको समय बढेपछि आवश्यक कर्मचारी पूर्ति गर्न थप खर्च गर्नुपर्दा कम्पनीको खर्च उल्लेख्य मात्रामा बढ्यो । अमेरिकामै पनि केही स्टार्ट–अप कम्पनीले हप्ताको ४ दिन मात्रै काम गर्ने नीति प्रयोगमा ल्याएका थिए । तर, यसले कम्पनी कम प्रतिस्पर्धात्मक र कर्मचारीहरू पनि पहिलाको भन्दा बढी तनावमा रहेको भेटिएपछि भने काम गर्ने दिन पुनः हप्ताको ५ दिन नै अपनाइयो ।

प्रकाशित मितिः     २३ बैशाख २०७६, सोमबार ०७:०८  |