‘बाँके देशकै प्रमुख आर्थिक हब’


बाँके, २४ बैशाख : प्रदेश नं. ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले राजधानी नबन्दैमा बाँके पछि नपर्ने बताएका छन् । उनले बाँके र रुपन्देही देशकै आर्थिक मेरुदण्डका रुपमा स्थापित हुँदै गएको बताएका छन् । मन्त्री गिरीले यि दुई जिल्ला बिना प्रदेश मात्र नभई समग्र देशले आर्थिक विकासको कल्पना गर्न नसक्ने ठोकुवा गरे ।

लुम्बिनी भ्रमण वर्ष २०७६ का बिषयमा नेपालगन्जका पत्रकार तथा सरोकारवाला निकायसंग मंगलबार अन्तरक्रिया गर्ने कार्यक्रममा मन्त्री गिरीले दुई जिल्लाको औद्योगिक विकासका बारे चर्चा गरे । प्रादेशिक राजधानी कायम गर्दा जिल्ला बिशेषलाई पार्ने प्रभावका बारेमा पत्रकारले सोधेको प्रश्नको जबाफ दिदै मन्त्री गिरीले भने,–‘राजधानी जहाँ भएपनि बाँके र बर्दियामा हुने औद्योगिक विकासलाई कसैले रोक्न सक्दैन । राजधानी बिशेषले कुनै जिल्लालाई तलमाथि पार्छ जस्तो लाग्दैन ।’

मन्त्री गिरीले औद्योगिक विकाससंगै प्रदेश ५ मा पर्यटनका क्षेत्रबाट पनि आर्थिक सेत जुटाउन सकिने प्रशस्त आधार रहेको बताए । उनले भने,–‘त्यही कुराको कल्पना गरेर ऐतिहासिक लुम्बिनी भ्रमण वर्ष मनाउँदैछौ ।’ लुम्बिनी भ्रमण वर्ष भनेपनि यसले सबै जिल्लाको प्रतिनिधित्व गर्ने मन्त्री गिरीले बताए ।

लुम्बिनी भ्रमण वर्ष आगामी जेठ ४ गतेबाट शुरु हुँदैछ । लुम्बिनी भ्रमण वर्षले प्रदेश ५ को मात्र नभई सिङ्गो देशको पर्यटनक्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने लुम्बिनी भ्रमण वर्ष कार्यकारणी समितिका सदस्य प्रदिप आचार्यले जानकारी दिए । लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार र प्रर्बधनमा महत्वपुर्ण भूमिका खेल्ने आचार्यले बताएका छन् ।

प्रकाशित मितिः     २४ बैशाख २०७६, मंगलवार १६:५८  |