नेपालगन्ज, २५ बैशाख : चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगन्ज नाका हुँदै रु ५ अर्व ८ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउन महिनादेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिक टन चामल भित्रिएको नेपालगन्ज भन्सार कार्यालले जानकारी दिएको छ ।
कृषिप्रधान मुलुक भएपनि चामलमै दैनिक लाखौं मुल्यको चामल यसरी नेपालमा भित्रिरहेको छ । नेपालगन्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । व्यवसायीहरुले पोखरा लगायतका शहरमा समेत बिक्रीका लागि पठाउँछन् । तर मुख्यरुपमा स्थानीय बजारमै खपत हुन्छ । बाँके, बर्दिया र दाङ्ग चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् तर पछिल्लो समय उत्पादन हुन नसक्दा भारतबाट चामल आयात गर्नुपरिरहेको छ ।
नेपालगन्ज नाकाबाट आयात हुने ‘टप दश’ सामाग्रीको सूचिमा चामल दोस्रो नम्बरमा छ । सबैभन्दा धेरै इन्धन आयात भएको छ । चामलबाट नेपालगन्ज भन्सारले रु ३९ करोड २६ लाख राजश्व संकलन गरेको छ । चामलसंगै आलुको आयात पनि अत्याधिक देखिएको छ । भारतबाट यसअवधीमा रु १ अर्व ९ करोड ४७ लाख बराबरको ५३ हजार २ सय ५१ मेट्रिक टन आलु आयात गरिएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसक्दा यति ठूलो परिमाणमा चामल आयात भएको हो । नेपालीहरूको खानेबानीमा परिवर्तन आउन नसक्नु, कृषि पेशामा जनशक्ति नहुनु तथा प्रविधि र सिँचाइको अभावजस्ता कारणले चामल आयात वृद्धि भएको जानकारहरू बताउँछन् । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गरेको छ । चीन, थाइल्याण्ड र बंगलादेशबाट पनि चामल आयात हुने गर्दछ ।