मानसरोवर जानेको हवाई यात्रा सुरक्षित र व्यवस्थित बनाउन निर्देशन


बाँके ३१ बैशाख : नेपालगन्ज– हुम्ला रुटबाट कैलाश मानसरोवरको यात्रा शुरु हुन अब केही दिन मात्र बाँकी छ । ट्राभल एजेन्सीहरुले यात्रीको ‘बुकिङ्ग’ गरिसकेका छन् । सम्भवत केही दिनभित्रे तिर्थयात्रीको पहिलो ‘लट’ नेपालगन्ज आईपुग्ने छ ।

तिर्थयात्रीको हवाई यात्रा व्यवस्थित र सुरक्षित बनाउन नागरिक उड्यन प्राधिकरण नेपालगन्ज कार्यालयले एयरलाईन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका नेपालगन्ज प्रमुख प्रेमचन्द्र ठाकुरले नेपालगन्ज र हुम्ला बिमानस्थलमा धेरै भन्दा धेरै तिर्थयात्री आउँदा पनि बस्नका लागि समस्या नहोस् भन्नका लागि आफुहरुले तयारी गरेको बताउनुभएको छ ।

‘नेपालगन्ज बिमानस्थलमा एउटा अलग्गै भवन बनाउँदै छौ । ठेकेदारको लापरवाहीले समयमै बन्न नसकेपनि तिर्थयात्री आउँदा बैकल्पिक व्यवस्था गर्छौ ।’ ठाकुरले भन्नुभयो–‘एयरलाईन्स र हेलिकप्टर कम्पनीलाई पनि राम्रो व्यवस्थापनका लागि निर्देशन दिएका छौं ।’ तिर्थयात्रीहरु नेपालगन्जबाट हुम्लासम्म प्लेनमा र त्यहाँबाट हिल्सासम्म हेलिकप्टरमा जाने गर्छन ।

गत वर्ष हेलिकप्टरको पंखामा लागेर एकजना भारतीय तिर्थयात्रीको मृत्यु भएको थियो । त्यस्ता सम्भावित दुर्घटना हुन नदिन पूर्वतयारी गरिने ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हुम्लामा गएर हेलिकप्टर कम्पनीहरुलाई राखेर यस बिषयमा प्रशिक्षण नै दिने तयारी गर्दैछौ ।’

प्रकाशित मितिः     ३१ बैशाख २०७६, मंगलवार ०८:०१  |