नेपालगन्ज, १ जेठ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मन्त्री मातृका यादवले फर्म दर्ता नविकरण खुलाउने सम्बन्धमा दिएको आश्वासन पुरा नगरेपछि नेपालगन्जका उद्योगी, व्यवसायी रुष्ट बनेका छन् । नविकरण नगर्दा यहाँका दर्जनौ उद्योगी, व्यवसायीलाई समस्या परेको छ ।
पटक पटक भन्दा पनि फर्म नविकरणको माग पुरा नभएपछि नेपालगन्ज उद्योग वाणिज्य संघले बुधवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण पौडेल मार्फत बिभिन्न निकायमा ज्ञापन पत्र बुझाईएको छ । संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । यसअघि यहाँका उद्योगी, व्यवसायीसंघको भेटमा मन्त्री यादवले नविकरण खुलाउने आश्वासन दिएका थिए ।
हेर्नुहोस् ज्ञापनपत्र
श्रीमान प्रमुख ज्यू
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय,
नेपालगन्ज, बाँके ।
विषय :— फर्म नविकरण हुने ब्यवस्थामा समायोजन सम्बन्धमा ।
महोदय,
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा फर्म दर्ता र नविकरण सम्बन्धमा हाल विद्यमान अवस्थाका कारण ब्यवसायीहरुले धेरै नै दुःख भोगी रहेको र यस सम्बन्धमा ब्यवसायीहरुको गुनासो संघमा पटक–पटक आएको हुनाले र संघले महासंघ मार्फत माननिय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मन्त्रीज्यूलाई समेत अनुरोध गर्दा एक पटकको लागि चाडै नै दर्ता प्रक्रिया खेल्ने आश्वासन समेत पाएको भएता पनि हाल सम्म यस विषयमा कुनै पहल नभएको हुनाले संघ दुःख व्यक्त गर्दै तथा हाल फर्म नविकरण हुने प्रवधानमा केहि संशोधन सुधार समेत आवश्यकता भएको महसूस गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा दर्ता रहेको फर्महरुको नविकरण गर्ने म्याद समाप्त भएमा पुनः नविकरणका लागि मन्त्री परिषदको निर्णय अनुसार एक वर्षका लागि मात्र म्याद थप्नेगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्धारा नविकरण म्याद थप सम्बन्धमा प्रचार प्रसारको अभाव देखिएकोले ध्यानाकर्षण गराउन अति आवश्यक भएको र साथै नविकरण गर्ने म्याद सधैंका लागि न्यूनतम विलम्ब शुल्क लिई खुला गर्नु पर्ने संघको जोडदार माग रहेको छ । यस सम्बन्धमा यथाशिर्घ कारवाही नगरेमा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघ आन्दोलन गर्न बाध्य हुनेछ ।
बोधार्थ
१) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मन्त्रालय, सिहंदरबार, काठमाण्डौँ ।
२) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल, काठमाण्डौँ ।
३) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, प्रदेश नं. ५ , बुटवल ।
४) नेपाल उद्योग वाणिज्य महासंघ, टेकु, काठमाण्डौँ । ५) नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, बुटवल ।
…………………………..
नन्द लाल बैश्य
अध्यक्ष