नेपालगन्ज, १३ बैशाख : लागुऔषध दुव्र्यसनीहरुको पुर्नस्थापना अभियानमा सक्रिय चेन्ज टिम ( परिवर्तन समूह)ले नेपालगन्जमा निःशुल्क रिहाव सेन्टर सन्चालन गरेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश ५ को आर्थिक सहयोगमा बैशाखको अन्तिम साताबाट रिहाव सेन्टर सन्चालन गरेको कार्यक्रम संयोजक इन्द्रा रावलले जानकारी दिइन ।
बाँके र बर्दियामा रहेका लागुऔषधमा फसेकाको पुर्नस्थापनाका लागि निःशुल्करुपमा बस्ने व्यवस्था गरिएको छ । बाँके र बर्दियाबाट २२/२२ जना गरी ४४ जनालाई रिहाव सेन्टरमा राख्ने लक्ष्य छ । त्यसका लागि जोकोहीले दुव्र्यसनीमा फसेका युवाहरुलाई रिहाव सेन्टरमा ल्याउन सक्छन् । बाँके जिल्लामा सन्चालनमा आएको उक्त रिहाव सेन्टरबाट आर्थिक अवस्था कमजोर भएका दुव्र्यसनीमा फसेका युवाहरुका लागि सहज हुने छ । यसै बिषयमा चेन्ज टिमले शुक्रबार नेपालगन्जमा बृहद अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, डा संकेत रिसाल, प्रहरी अधिकारी लगायतको उपस्थिती रहेको छ ।
उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले हालै सन्चालनमा आएको रिहाव सेन्टरलाई निरन्तरता दिन सके उपयुक्त हुने बताए । कार्यक्रम सकिएपछि बन्द हुने अवस्था आए राम्रो नहुने उनीहरुको तर्क छ । चेन्ज टिमले अहिले मेथाडोन बिधिको उपचार पद्धती सन्चालन गर्दै आएको छ । प्रभावकारी बन्दै गएको उक्त मेथाडोन बिधिबाट धेरै युवा युवतीहरुलाई लागुऔषधको कुलतबाट उन्मुक्ति दिलाउन सकिएको छ ।