काठमाडौं । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनीले यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ । काठमाडौं उपत्यकाभित्र चक्रपथमा संचालनमा रहेका स्टोरमध्ये चौथो सुपर स्टोर शुक्रबार देखि महिनाबाट ललितपुरको चापागाउँ सातदोबाटोमा संचालनमा ल्याएको छ। चक्रपथमा यसअघि महाराजगन्ज, कोटेश्वर, बालाजु र कलंकीमा भाटभटेनीको सुपर स्टोर संचालनमा रहेका छन् ।यसैगरी संघीय राजधानी बाहिर प्रदेश १ को इटहरी, प्रदेश ५ को दुई मुख्य व्यापारिक शहर भैरहवा र नेपालगञ्जमा समेत सुपर स्टोर निर्माण कार्य तीब्रताका साथ जारी छ ।
भैरहवाको लुम्बिनीमा निर्माणाधीन सुपर स्टोरको निर्माण कार्य अन्तिम चरणमा रहेकाले चाँडै नै संचालनमा ल्याउने तयारी भइरहेको छ । यसअघि २०७४ वैशाखमा बुटवल वडा नम्बर ८ सुख्खानगरमा ९० करोड रुपैयाँको लगानीमा रुपन्देहीको पहिलो भाटभटेनी सुपर स्टोर संचालनमा ल्याइएको थियो । बुटवलको सुपर स्टोरमा सिनेमा घर समेत संचालनमा रहेको छ । भाटभटेनीले प्रदेश १ को विराटनगर र धरानमा यसअघि नै सुपर स्टोर संचालनमा ल्याइसकेको छ ।हाल भाटभटेनीको १५ वटा स्टोर संचालनमा रहेका छन् । इटहरीमा स्थानीय लगानीमा गोरखा डिपार्टमेन्टल स्टोर सफलतापूर्वक संचालनमा रहेको छ । विराटनगरको तुलनामा जनसंख्या कम भएपनि धरान, विराटनगर, बिर्तामोड र लहान छुट्टिने चौबाटोको रुपमा रहेकोले इटहरी समेत लाइफस्टाइल र पर्यटनसँग सम्बन्धित व्यवसायको लागी प्राथमिकतामा पर्न थालेको छ।
गत महिनादेखि भाटभटेनीको इटहरी र नेपालगन्जमा सुपर स्टोर निर्माण कार्य शुरु भएको हो । भैरहवा, इटहरी र नेपालगन्जको सुपर स्टोर सन् २०१९ भित्रै संचालनमा ल्याइने भाटभटेनी व्यवस्थापनले जानकारी दिएको छ। राजधानी बाहिरका शहरमा एउटा भाटभटेनी सुपर स्टोरको निर्माणमा जग्गा सहित करिब एक अर्ब रुपैयाँ लगानी हुने गरेको छ । ठूला शहर र उदाउँदो बजार केन्द्रको ग्राहकलाई लक्षित गर्दै प्रत्येक वर्ष ३ देखि ४ वटा सुपर स्टोर संचालनमा ल्याउने रणनीति बनाएर सुपर स्टोर निर्माण कार्य भइरहेको छ ।