‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ असारबाट सन्चालन हुने, छ महिनापछि क्यासिनो


नेपालगन्ज ५ जेठ :  राँझा विमानस्थल नजिकै गनापुरमा तीन बिघा क्षेत्रफलमा निर्माणाधिन  ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ आगामी असार महिनाबाट सन्चालनमा आउने भएको छ । होटलको पूर्वाधार निर्माणको सकिएको होटलका प्रबन्धक निर्देशक सीताराम यादवले जानकारी दिए ।‘असार १८ गते उद्घाटन गर्ने योजना बनाएका छौं । पूर्वाधार निर्माणको काम सकिएको छ ’– यादवले भने  ।

जानकी गाउँपालिका वडा नम्बर ६ मा नेपालगंज–सुर्खेत राजमार्ग नजिकै निर्माणाधीन होटलमा ७१ करोड रुपैया भन्दा बढि रकम लाग्ने छ । होटल सन्चालनको छ महिनापछि क्यासिनो समेत सन्चालनमा आउने यादवले जानकारी दिए ।होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, क्यासिनो का साथै ३६ वटा डिलक्स, ४ वटा स्वीट, ४ वटा कर्पोरेट र ८ वटा सिंगल रुमसहित ५२ वटा कोठा तयार पारिँदैछ।होटलको प्रवद्धनको लागि बजार प्रवद्धन सेवा प्रदायक भारतीय कम्पनी ब्लिससँग सम्झौता गरेको छ।

कैलाश मानसरोवरको यात्राको‌ लागि आउने विदेशी पर्यटकहरु हिल्सा हुँदै मानसरोवर यात्रामा आउजाउ गर्दा नेपालगञ्जमा बास बसेर हवाई मार्गबाट त्यहाँ पुग्ने गरेका छन्।मानसरोवर यात्रामा जाने पर्यटकको लागि वर्षको छ महिना नेपालगञ्ज नै उपयुक्त प्रवेशद्वार हो, व्यवसायी यादवले भने, सीमित होटल हुँदा महँगो शुल्क तिर्दै आएका पर्यटकलाई होटलको संख्या थपिंदा थप सुविधा सहितको होटल सस्तो शुल्कमा उपलब्ध हुन थालेको छ।गतवर्षदेखि नेपालगञ्जमा चारतारे होटल सोल्टी वेष्ट एण्ड र कोहलपुरमा सेन्ट्रल प्लाजा पाँचतारे होटल संचालनमा आएपछि तीनतारे स्तरदेखिको तारे होटलको संख्या आठ पुगेको छ।

प्रकाशित मितिः     ५ जेष्ठ २०७६, आईतवार १४:२४  |