बर्दिया भ्रमण वर्ष २०७६ : निम्तो बाड्दै देश दौडाहामा बर्दियाली


बर्दिया, ८ जेठ : देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा पश्चात बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरु पर्यटन प्रर्वद्धन लागि कार र्यालीमा निस्किएका छन् ।  नेपाल भ्रमण बर्ष सन् २०२० र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल बनाउन बर्दिया निकुञ्ज आसपास क्षेत्रका पर्यटन व्यवसायि र संरक्षणकर्मीहरु कार र्यालीमा निस्कीएका हुन् ।
बर्दिया राष्टिय निकुञ्ज संगै बर्दिया जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुर्याउने र बर्दिया भ्रमण बर्ष २०७६ लाई सफल पार्ने उद्देश्यका साथ सप्ताहव्यापी कार र्यालीको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।  सप्ताहव्यापी कार र्यालीको उद्धघाटन पश्चात आइतबार बिहान बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्धाराबाट र्याली पुर्वतर्फ पोखरा सम्मका लागि प्रस्थान गरेको हो ।


बर्दिया भ्रमण वर्ष २०७६ का अवसरमा निस्किएको कार र्याली १२ वटा पर्यटकिय जंगल सफारी जीपमा ७१ जनाको टोली बर्दिया, बाँके, दाङ, हुँदै लुम्वीनी, बुटवल देखि पाल्पा पुगेको छ । बुधवार विहान पोखरा पुग्ने जनाईएको छ । र्यालीमा निस्किएका टोलीले जिल्लाका प्रमुख बजार तथा चोकमा पोस्टर टाँस्दै सबैलाई बर्दिया घुम्न आउन निम्तो समेत दिएका छन् ।
सोमवार बिहान दाङको घोराहीमा होटल व्यवसायी संघ र वेलुका लुम्वीनीमा होटल व्यवसायी संग बर्दियाको पर्यटन प्रर्वद्धन विषयमा अन्र्तक्रिया गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताउनुभयो ।
यसैगरी मंगलवार विहान बुटवलमा प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि लिला गिरी, प्रदेश सासंद एवं उद्योग वाणिज्य संघका टोली संग र वेलुका पाल्पाको तानसेनमा उद्योग वाणिज्य संघ संग प्रर्यटन प्रर्वद्धनका विषयमा अन्र्तक्रिया गरिएको उहाँले बताउनुभयो ।
यस्तै बुधवार पोखराका होटल तथा पर्यटन व्यवसायी संग र फर्किने क्रममा चितवनका होटल तथा पर्यटन व्यवसायीसंग बर्दियाको पर्यटन प्रर्वद्धन विषयमा अन्र्तक्रिया गरिने चिसापानी पर्यटन प्रर्वद्धन समितिका पुर्व अध्यक्ष तथा कार र्याली समन्वय उप समितिका संयोजक कृष्ण प्रसाद भट्टराईले बताउनुभयो ।
माघ १ गते बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको बर्दिया माघी महोत्सवको उद्घाटन समारोहमा देशको शान, अन्तराष्ट्रिय पहिचान, हेर्न जाऔँ बर्दिया भन्ने मुल नारा सहित २०७६ लाई बर्दिया भ्रमण बर्ष घोषणा गरिएको थियो ।  ठाकुरबाबा नगरपालिका, नेपाल पर्यटन वोर्ड र पर्यापर्यटन विकास मञ्चको आर्थिक सहयोगका निस्किएको कार र्याली १२ गते बर्दियाको सदरमुकाम गुलरिया पुगेर समापन गरिने बर्दिया टाइगर रिसोटका प्रवन्धक रेशम थापाले बताउनुभयो ।


बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लाकै मुख्य पर्यटकिय गन्तब्य हो । निकुञ्ज भ्रमण गर्दा जंगल पदयात्रा, जीप सफारी, हात्ती सफारी, जलयात्रा, क्याम्पिंग, फिसिंग, थारु सांस्कृतिक नाच, थारु समुदायको मौलिक परिकारहरु, आदीको अवलोकन गर्न सकिन्छ ।
पर्यटन प्रर्वद्धन बिषयमा सबैलाई सचेत गराउन सकिएमा र पर्यटन व्यवसायको बजारीकरण गर्न सकिएमा आर्थिक रुपमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बर्दियामा पछिल्लो समय बाघको संख्या बढेसंगै बाघ हेर्न बर्दिया आउने पर्यटकको संख्या समेत बढ्दो छ । आन्तरीक तथा बाह्य पर्यटकहरु बाघ हेर्न चितवन पछि बर्दिया आउने परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले ८७ वटा बाघ रहेका छन् ३७ वटा एक सिँगे गैँडा छन भने १ सय बढि हात्ती रहेका छन् ।


बर्दिया राष्ट्रिय निकुञ्जलाई नेपालमा मात्रै नभएर विश्वभर चिनाउन पर्यटन व्यवसायी र संरक्षणमा आवद्ध संरक्षणकर्मीहरुले महत्वपुर्ण योगदान पुर्याएका छन् । देशको शान, अन्तराष्ट्रिय पहिचान बोकेको बर्दिया निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तुहरु र थारु समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्न संरक्षण र पर्यटन सबैले बुझ्न जरुरी रहेको छ ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७६, बुधबार ०७:३४  |